दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्ना सेवाहरुमा ग्राहकलाई आकर्षक छुट तथा सुविधाहरु उपलब्ध गराएको छ । दशौं वाषिर्कोत्सवको अवसर पारी टेलिकमले तीन महिनाका लागि छुट तथा सुविधाहरु उपलब्ध गराएको हो ।
वाषिर्कोत्सवको अवसरमा राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले आजदेखि तीन महिनासम्म लागु हुने गरी विभिन्न सुविधा तथा छुटको व्यवस्था गरेको जानकारी दिए । उनका अनुसार टेलिकमले जीएसएम र सीडीएमए सेवाको पोष्टपेड मोबाइल ग्राहकहरुलाई तीन महिनासम्म हरेक महिना ५० एमबी डाटा निःशुल्क उपलब्ध गराउने छ ।
टेलिकमलाई अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँग प्रतिस्पर्धी बनाएर लैजान ग्राहकहरु आकषिर्त गर्ने उद्देश्य अनुरुप सुविधा तथा छुटको व्यवस्था गरिएको हो । पछिल्लो समय कम्पनीहरुबीच सुविधा र छुटमा होडबाजी चल्न थालेको पाइन्छ ।
कार्यक्रममा बोल्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले टेलिकमका सेवा-सुविधालाई अन्य कम्पनीका सेवा-सुविधाहरुसँग प्रतिस्पर्धी बनाउन सुझाव दिए । पछिल्लो समय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्दै गएको उल्लेख गर्द उनले प्रतिस्पर्धी क्षमता नबढाए भोलिका दिन कम्पनीका लागी सहज नहुने ठोकुवा गरे ।
कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरुलाई आग्रह गर्दै प्रमुख आयुक्त कार्कीले तलमाथि गरेमा अख्तियारले नछाड्ने चेतावनी दिए । उनले दूरसञ्चार सेवाको नाममा विकृति बढाउन खोज्ने जुनसुकै कम्पनीलाई कारबाहीको दायरामा ल्याउने पनि बताए ।
मुख्य सचिव लीलामणि पौडेलले सार्वजनिक संस्थान राज्यका लागि बोझ बन्दै गइरहेका बेलामा टेलिकमले सबैभन्दा बढी राजश्व बुझाएर उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे । टेलिकम राष्ट्रको गौरव भएको उल्लेख गर्दै उनले गौरवलाई टिकाउन प्रतिस्पर्धी क्षमता बढाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
टेलिकमले राती १० बजेदेखि विहान ६ बजेसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड नेशनल भ्वाईस कल गर्न सक्ने गरी सीडीएमए पि्रपेड सेवामा प्रति महिना २० रुपैयाँमा नाइट कल प्याकेज उपलबध गराउने भएको छ ।
फ्रेन्ड्स एन्ड फेमिली (एफएनएफ) सेवा अन्तर्गत सीडीएमएका पोष्टपेड ग्राहकहरुलाई ५५ पैसा प्रतिमिनेट र पि्रपेड ग्राहकलाई ७५ पैसा प्रतिमिनेट कल सुविधा उपलब्ध गराएको छ ।
ईभिडियो सेवाको २ जीबी, ५ जीबी र १० जीबी डाटा प्याकेजको अवधी १ महिनाबाट बढाएर २ महिना कायम हुने भएको छ । साथै, २५ एमबी तथा ३०० एमबी डाटा प्याकेज क्रमशः २ दिन र १५ दिनको समयावधी कायम गरी उपलब्ध गराउने भएको छ ।
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले दूरसञ्चार क्षेत्रमा विश्वमा विकसित प्रविधिलाई भित्राउन स्ट्राटेजी पार्टनर भित्राउन लागेको जानकारी दिए । स्ट्राटेजी पार्टनर भित्राउन सकेमा टेलिकममा राज्य र राजनीतिक हस्तक्षेप कम हुने र प्रतिस्पर्धी क्षमता बढाउन सहज हुने उनको विश्वास थियो ।
त्यसैगरी, जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइल सेवा लिँदाको शुल्क दुई हजार १ सय ३० रुपैयाँबाट घटाएर एक हजार ४ सय ३० रुपैयाँमा कायम गरेको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुलाई विशेष प्याकेज अन्तर्गत वितरण गरिएको सिम तथा रिमबाट कम्पनीकै नेटवर्कभित्र हुने प्रत्येक १० मिनेट कलमा एक रुपैयाँको दरले तीन महिनासम्म बोनस वितरण गर्ने बताइएको छ ।
सीडीएमए मोबाइलको पोष्टपेड सेवा बुधबारदेखि काठमाडौंबाट पुनः बिक्री सुरु गर्ने र क्रमशः काठमाडौं बाहिर पूर्वाधार विस्तार गर्ने क्रमसँगै बिक्री वितरण गर्ने प्रबन्ध निर्देशक भट्टराईले जानकारी दिए ।
बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागी सय रुपैयाँमा सय रुपैयाँ बराबरको टक भेलु रहने गरी सिम तथा रिम उपलब्ध गराउने र कम्पनीकै नेटवर्कमा एसएमएस गर्दा तीन महिनासम्म प्रति एसएमएस २० पैसा कायम गरेको उनको भनाई थियो ।
प्रबन्ध निर्देशक भट्टराईले प्रतिस्पर्धी तथा ग्राहकमुखी जनशक्तिको विकास सँगसँगै कम्पनीको लक्ष्य प्राप्तितर्फ आवश्यक क्षमता तथा गुणस्तर अभिवृद्धि गर्दै, कमजोरी पहिल्याई, अवसरको सदुपयोग गर्दै र चुनौतीहरुको सामना गर्दै टेलिकमलाई उदाहरणीय संस्था बनाउन हर प्रयास गर्ने प्रतिबद्धता जनाए ।
उनले जीएसएम प्रणालीको स्तरोन्नति पश्चात डाटा बजारतर्फ करिव ६० प्रतिशत ग्राहक आधार वृद्धि भएको जानकारी दिए । कम्पनीका स्थापना कालको ग्राहक आधार ४ लाख २२ हजारबाट यही पौष मसान्तसम्म करिव २३ गुणाले वृद्धि भई ९९ लाख १७ हजार पुगिसकेका छन् ।