काठमाडौं, माघ २४ – एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रपति, उपराष्ट्रपति चुनावको प्रक्रिया तत्काल थाल्न माग गरेका छन् ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता ओलीले पुरानो राष्ट्रपतिलाई नयाँ संविधानसभाले नचिन्ने बताए । ‘यो पुरानो संविधानसभाको निरन्तरता होइन, नयाँ हो,’ उनले भने, ‘पुरानो संविधानसभाबाट निर्वाचित राष्ट्रपति र उपराष्ट्रलाई यसले चिन्दैन ।’
ओलीले संसदमा अब सभामुख, उपसभामुख, प्रधानमन्त्रीसँगै राष्ट्रपति-उपराष्ट्रपतिको चुनाव गर्ने एजेन्डा प्रवेश गराउन माग गरे । लोकतन्त्रको मान्यताविपरीत पुरानै राष्ट्रपति-उपराष्ट्रपतिलाई निरन्तरता दिने अडान कांग्रेसले राख्न नमिल्ने उनले बताए ।
दुई वर्षका लागि चुनिएका राष्ट्रपति थपिएको दुई वर्ष र संक्रमणकालीन अवस्थामा थप दुई वर्ष गरी ६ वर्ष पदमा रहेको उल्लेख गर्दै अर्को ४ वर्षसम्म पुरानो राष्ट्रपति बस्न नमिल्ने बताए ।
‘दुई वर्षको कार्यकाल भनेको संविधानसभा चार वर्ष रहन गयो, संक्रमणकालीन अवस्थाको दुई वर्ष गरी ६ वर्ष त उहाँ राष्ट्रपतिको कुर्सीमा बस्नुभयो,’ ओलीले भने, ‘एक वर्षभित्र संविधान जारी गर्ने भनिए पनि संविधानतः संसदको कार्यकाल ४ वर्ष छ, अर्को चुनाव हुन थप चार वर्ष लाग्ला, के राष्ट्रपति १४ वर्षसम्म बसिरहने ?’
ओलीले राष्ट्रपति रामवरण यादव पुनः संसदबाट अनुमोदिन हुनुपर्ने वा विगतको कामका लागि धन्यवाद दिंदै अर्को राष्ट्रपति चयन गर्नुपर्ने बताए । राम्रो थियो भन्दैमा कुनै लोकतन्त्रमा एउटै व्यक्ति बिना अनुमोदित भएर बस्न नहुने उनले बताए ।
चीनका राष्ट्रपति हु जिन्ताओले आफ्नो मुलुकलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनाएको उदाहरण दिंदै उनले जिन्ताओ १० वर्ष पुगेपछि स्वतः पदबाट हटेको बताए ।
राष्ट्रपतिको निर्वाचन व्यक्तिको विषय नभएको बताउँदै ओलीले विधि र पद्धतिविपरीत कोही अघि बढ्न नसक्ने बताए । ‘त्यसो त लोकतान्त्रिक शक्तिहरुको बाहुल्य भएको यो संविधानसभा कम्ति राम्रो छ र ?,’ उनको तर्क थियो, ‘अब यहि संविधानसभालाई सधैं राखिरहने ?’
ओलीको भनाइप्रति एमाओवादी नेता गिरिराजमणि पोखरेलले समर्थन जनाए । बैठकलाई सम्बोधन गर्दै उनले ओलीले जायज विषय उठाएको बताउँदै लोकतान्त्रिक मुल्य र मान्यताविपरीत पुरानै राष्ट्रपतिलाई निरन्तरता दिन नहुने बताए ।
पोखरेलले राष्ट्रपति फेर्ने धारणा आफ्नो व्यक्तिगत नभएर पार्टीकै भएको उल्लेख गरे ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान संशोधन, राजीनामा र महाअभियोग बिना संविधानविपरीत राष्ट्रपति फेर्न नमिल्ने बताए । EKANTIPUR