काठमाडौं, माघ २६ । नेकपा एमालेले समर्थन गर्ने भएपछि कांग्रेस सभापति सुशिल कोइरालाले प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराएका छन् । उपसभापति रामचन्द्र पौडेलको प्रस्ताव र एमाले संसदीय दलको नेता केपी शर्मा ओलीको समर्थनमा कोइरालाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दिन सचिवालयले आज साँझ ५ बजेसम्मको समय दिएको छ ।
आज कांग्रेस संसदीय दलको वैठकले पठाएको प्रस्ताव स्वीकार्दै एमाले स्यायी कमिटी वैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस वैठकले एक बर्षभित्र संबिधान जारी गरी राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने प्रस्ताव एमालेलाई पठाएको हो ।
संयुक्त सरकार निर्माणबारे आजै एमाले र कांग्रेसबीच ७ बुँदे सहमतिसमेत भएको छ । संबिधान जारी नहुँदासम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई नै संसद्बाट अनुमोदन गर्ने दुई दलबीच सहमति भएको छ । प्रधानमन्त्रीको लागि भोलि व्यवस्थापिका संसदमा निर्वाचन हुँदैछ । प्रधानमन्त्री पदको लागि कोइरालाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ । सचिवालयले उम्मेदवारी दर्ताको लागि आजको ५ बजेसम्मको अवधी दिएको थियो । संसद वैठक भोलि ११ बजे बोलाइएको छ ।
दुई पार्टीबीच भएका सहमतिका बुँदा :
१) एक वर्षभित्र नयाँ संविधान जारी गर्ने।
२) अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने।
३) संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने। त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने।
४) एमालेले कांग्रेसको नेतृत्वमा सुशील कोइरालाको सरकारलाई समर्थन गर्ने।
५) एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीहरुको निर्वाचन गर्ने।
६) सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने।
७) एमालेलाई कांग्रेसले सघाउने
नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठन र शक्ति बाँडफाँड लगायतका विषयमा सात बूँदे सहमति भएको छ । दुइ दलबीच आज भएको सहमति अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति सुशील कोइरालालाई एमालेले समर्थन गर्ने र कांग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी हुने छ ।
यसैगरी बर्तमान राष्ट्रपति र उपराष्ट्रपति दोस्रो संविधान सभाबाट अनुमोदन गराउने, त्यसका लागि संविधानमा संशोधन गर्ने र नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति परिवर्तन नहुने लगायतका विषयमा दुइ दलबीच सहमति भएको छ ।दुइ दलबीच मन्त्रालयहरुको बाँडफाँडमा सहमति भएको बताइएको छ । नेकपा एमालेले प्रधानमन्त्रीमा नेपाली कांग्रेसलाई समर्थन गर्नेनिर्णय गरेको हो ।
एमाले स्थायी समितिको आज दिउँसो बसेको वैठकले भोलि संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा बसेको वैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीमा कांग्रेस सघाउने निर्णय गरेको जानकारी दिंदै शक्ति बाँडफाँड लगायतका विषयमा प्याकेज सहमति गर्ने बताए । RSS, EKANTIPUR,IMAGECHANNELS