काठमाडौ, माघ २७ – व्यवस्थापिका संसदमा हाल कायम रहेको ५७१ सभासद मध्ये ४०५ मत प्राप्त गरेर कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । सभामुख सुर्यबहादुर थापाले कोइराला बहुमतबाट प्रधानमन्त्री चयन भएको घोषणा गरे । कोइरालाले दुई तिहाई भन्दा बढी मत ल्याएका हुन् । कोइरालाको विपक्षमा १४८ मत परेको छ । ७८ वर्षीय कोइराला गणतन्त्र स्थापनापछिको ५ औं प्रधानमन्त्री हुन् ।
एमाले, राप्रपा, माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, परिवार दल, समाजवादी जनता पार्टीको समर्थनमा कोइरालाले निर्वाचित भएका हुन् । एनेकपा माओवादीसहित अन्य २० साना दलले कोइरालाको बिपक्षमा मतदान गरेका थिए ।
लामो राजनीतिक इतिहास बोकेका कोइराला अहिलेसम्म सार्वजनिक पद धारण गरेका थिएनन् । पार्टी भित्र सधैं शक्तिशाली रहेपनि उनले सरकारमा भने कहिल्यै रुची देखाएनन् । कोइरालाले प्रजातन्त्रको आन्दोलनका क्रममा ६ वर्ष जेल र २० वर्ष प्रवासमा बिताएका छन् ।
उनी यसपटकको संविधानसभा निर्वाचनमा बाँके ३ र चितवन ४ बाट निर्वाचित भएका हुन् । कोइरालाको प्रधानमन्त्रीमा सपथसंगै प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा पूर्व प्रशासकहरु सम्मिलित निर्दलीय सरकार विस्थापन हुनेछ ।
०४६ को जनआन्दोलनपछि ०४८ र ०५६ मा बाँके क्षेत्र नं। २ बाट सांसदमा विजयी भए पनि उनी सत्ता र शक्तिलाई छाडेर पार्टी संगठनमा बस्न रुचाए । ०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक-पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए । ००७ सालपछिको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवास ९भारत० मा बिताएका छन् । २०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति हुँदै पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै कार्यवाहक सभापति बनेका थिए ।
समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्छ । कोइरालाले आफ्नो नेतृत्वमा पार्टीभित्र मूल्यमान्यताको संस्कार सुरु गर्ने, सामूहिक निर्णय प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्ने, मूल्यांकन र अनुशासन पद्धति विकास गर्ने बताए ।
संसद् वैठकमा बोल्दै एमाले संसदी दलका नेता केपी शर्मा ओलीले अब बन्ने सरकारले कार्यकता पोस्ने भन्दा राहत दिने र पछाडि परेकालाई अघि ल्याउन काम गर्ने विश्वास व्यक्त गरे । उनले कोइराला नेतृत्वको सरकारलाई राम्रो काम गर्नको लागि आफ्नो पार्टीले समर्थन गरेको दाबी गर्दै खोलो तरियो लौरो बिर्सियो भन्ने प्रवृत्ति नदेखाउन आग्रह गरे । ओलीले दलीय स्वार्थभन्दा देशको हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरे । ‘अबको सरकार नाक खुम्च्याउने बन्नुहुन्न’, ओलीले भने,’दलीय सन्तुलन हुनुपर्छ ।’
उनले आजको मुख्य कुरा संबिधान निर्माण भएको भन्दै एक बर्षभित्र संबिधान जारी गर्ने भनी गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने धारणा राखे । ‘एक बर्षभित्र राष्ट्रिय एकता र देशलाई सम्बृद्धितर्फ लैजाने संबिधान दिने हाम्रो अभिलाषा छ’, उनले भने,’सहमतिकै खातिर राष्ट्रपति र उपराष्ट्रपतिलाई संसद्बाट अनुमोदन गराएर कोइरालालाई समर्थन गरेका हौं ।’ उनले राजनीतिक नेतृत्वको सरकार बनेसँगै मुलुक पुन सही बाटोमा फर्किएको विचार व्यक्त गरे ।
प्रधानमन्त्री निर्वाचन अघि बोल्दै कांग्रेस उपसभापति तथा कोइरालाका प्रस्तावक रामचन्द्र पौडेलले कोइरालालाई कम बोल्ने र धेरै काम गर्ने नेताको संज्ञा दिए । ‘कोइराला व्यक्ति मात्र होइन,नेपालको प्रजातान्त्रिक आन्दोल र लामो संघर्ष गरेको कांग्रेसको प्रतिनिधी पनि हुन्, पौडेलले भने, ‘कांग्रेसले जनता समक्ष गरेको प्रतिविद्धता अनुसार कोइरालाले काम गर्नुहुनेछ ।’
निर्वाचित हुनुअघि संसद वैठकमा बोल्दै कोइरालाले ६ महिना भित्र स्थानीय निकायको निर्वाचन र एकवर्ष भित्र संविधान दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, बन्द हड्ताल निरुत्साहित गर्ने, महँगी नियन्त्रण गर्ने, छिमेकी मुलुकहरु र अन्य मित्र राष्ट्रहरुसंग सम्बन्ध सुदृढ बनाउने, राजनीतिक दलहरुबीच एकता र सहकार्यको भावना विकास गराउने प्रतिवद्धता व्यक्त गरे ।
उनले देशको आर्थिक वृद्धिका लागि देश भित्र र बाहिरका अवसरहरुको प्रयोग गर्ने प्रतिवद्धता जनाए । सुशासन सबैको चाहना भएकाले विधिको शासन र भ्रष्टचार विरुद्ध शुन्य सहनशिलता राखिने कोइरालाले बताए । उनले आफ्नो मन्तव्यमा कांग्रेस र कम्युनिष्टका पूराना नेताहरुले मुलुकमा पुर्याएको योगदानको सम्झिए । उनले शान्ति प्रक्रियामा योगदान पुर्याएवापत एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद व्यक्त गरे । उनले नेताहरुको योगदान र त्यागको अनुसरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
संसद बैठकमा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार निर्माणको पृष्ठभूमीमा भएको सम्झौताले फेरि संबिधानको धज्जी उडाएको भन्दै कांग्रेस र एमालेबीच हिजो भएको ७ बुँदे सहमतिको आलोचना गरे । उनले राष्ट्रपतिको पदलाई एक बर्षको लागि अनुमोदन गर्ने निर्णयको विरोध गरे । ‘सदनको दुई तिहाई बहुमत राष्ट्रपति निर्वाचनको पक्षमा रहँदा रहँदै अधिकार खोसिएको छ’, थापाले भने,’राष्ट्रपतिको एक वर्ष नविकरण गर्ने प्रधानमन्त्री एक वर्षमा फेर्ने यस्तो अधिकार कुन संविधान र कुन नैतिकता ले दियो ?’ अपवित्र गठबन्धनले संबैधानिक प्रक्रियाको धज्जी उडाएको भन्दै उनले सरकार नबन्दै सुशील कोइरालाको दिनगन्ती सुरु भएको चेतावनी दिए ।
१९९६ साल साउन २८ गते विराटनगरमा जन्मिएका कोइराला सहमति, सहकार्य र एकतालाई शिरोधार्य गर्ने राजनीनिज्ञ हुन् । उनको राजनीतिक जीवन २००७ सालको क्रान्तिदेखि नै सुरु भएको थियो ।
पिता बोधप्रसादको जागिर यात्राका क्रममा बिभिन्न स्थानमा अध्ययन गरेका कोइरालाले बिद्यार्थी राजनीति बीरगञ्जको ठाकुराम स्कुलबाट गरेका थिए । उनले विस २०१२ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका थिए । यद्यपि उनले २००७ सालदेखि नै राजनीतिक सुरु गरेका हुन् ।
उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य, विदेश विभाग प्रमुख, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै उनी कांग्रेसको ५ औं निर्वाचित सभापति बनेका थिए । उनी विस २०५८ सालमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा अर्का नेता शेरबहादुर देउवासँग पराजित भएका थिए । सादा जीवन उच्च विचारको छाप छाडेका कोइराला अविवाहित छन् । उनी पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बस्ने गरेको महाराजगञ्जस्थित निवासमा बस्दै आएका छन् ।
प्रकाशित मिति: २०७० माघ २७ EKANTIPUR
काठमाडौ, माघ २७ – नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता सुशील कोइराला एमालेको समर्थनमा सोमबार प्रधानमन्त्री बनेका छन। छन् । कांग्रेस र एमालेबीच सहमतिका साथ अघि बढ्न ७ बुँदे सहमति भएपछि ७८ वर्षीय कोइराला प्रधानमन्त्री निर्वाचित हुने निश्चित भएको हो ।
सहमति बनेपछि कोइरालाले प्रधानमन्त्री चुनावका लागि आइतबारै उम्मेदवारी दर्ता गराएका थिए। उनको उम्मेदवारीमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल प्रस्तावक र एमाले संसदीय दलका नेता केपी ओली समर्थक थिए ।
दुई दलबीच प्रधानमन्त्रीमा एमालेले कोइरालालाई र सभामुखमा एमाले उम्मेदवारलाई कांग्रेसले मतदान गर्ने सहमति छ । दुई दलबीचको ७ बुँदे सहमतिमा एक वर्षभित्र संविधान जारी गर्ने र त्यसपछिको अन्तरिम अवधिका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखकै निर्वाचन गर्ने उल्लेख छ । यो राजनीतिक सहमतिलाई संवैधानिक व्यवस्था गर्न संविधान संशोधन गर्ने सहमति पनि बनेको छ ।
सहमतिअनुसार कोइराला प्रधानमन्त्रीको रूपमा १ वर्षसम्म मात्रै रहनेछन् । संविधान जारी हुनासाथ संविधानसभा व्यवस्थापिका संसद्मा परिणत हुने भए पनि सभामुख र उपसभामुखको आयुसमेत एक वर्षका लागि मात्रै हुने सहमति छ । राज्यका प्रमुख पदहरूमा एकैचोटि निर्वाचन गराउँदा प्रमुख दलहरूबीच सत्ता साझेदारीमा सन्तुलन कायम गरेर अघि बढ्न सकिने भन्दै कांग्रेसले प्रस्ताव ल्याएको थियो ।
राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परामानन्द झालाई संविधानसभाबाट अनुमोदन गरेर निरन्तरता दिने सहमति दुई दलको छ । नयाँ निर्वाचनसँगै संविधानसभाबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने अडान एमालेले राख&a