काठमाडौ, माघ २८ – सरकारको नेतृत्व गरेको व्यक्ति अदालत फर्किनु हुन्छ कि हुन्न भन्ने बहसलाई मत्थर पार्दै आज मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजिनामा दिएको घोषणा गरेका छन् । मन्त्रिपरिषद् अध्यक्षको रुपमा देशबासीको नाममा सम्बोधन गर्दै रेग्मीले राष्ट्रपति रामवरण यादवलाई राजिनामा बुझाइसकेका जानकारी दिए ।
व्यबस्थापिका संसदले हिजो सभापति सुशील कोइरालालाई प्रधानमन्त्री निर्वाचित गरेपछि गैरदलीय चुनावी मन्त्रिपरिषद् बिघटन हुँदैछ । संसद्को दुई तिहाई मत पाएको प्रधानमन्त्री कोइरालाले आजै राष्ट्रपति सपक्ष सपथ ग्रहण गरी पदभार सम्हाल्दै छन् । कोइरालाले जिम्मेवारी लिएसँगै रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषद् बिघटन हुनेछ ।
जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्दै सर्वोच्च फर्किन आफूलाई कुनै कानुनले नरोक्ने भएपनि आफ्नो अन्तस्करणको आवाज सुन्दै राजिनामा दिएको रेग्मीले बताए । ‘मलाई पुनः न्यायालय फर्किन कुनै कानुनले रोक्दैन’, दलहरुलाई संबिधान निर्माणको लागि शुभकामना दिंदै रेग्मीले भने्, ‘अन्तरआत्माको आवाजलाई सुनेर राजिनामा दिएको हुँ ।’
कार्यपालिकाको नेतृत्व गरेको व्यक्तिले स्वतन्त्र न्याय सम्पादन गर्न नसक्ने भनाईको घुमाउरो रुपमा खण्डन गर्दै रेग्मीले कर्ता स्वतन्त्र भए न्यायालय पनि स्वतन्त्र र इमान्दार रहने धारणा राखे । उनले देश र जनताप्रतिको त्यागको भावनाले सरकारको जिम्मेवारी लिएको दाबी पनि गरे ।
‘देश र जनताप्रतिको त्यागको भावनाले जिम्मेवारी लिएको हुँ, पदको लालचाले होइन’, उनले भने ।
११ महिनाअघि प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा गैरदलीय सरकार गठन गर्दादेखि विरोध जनाउँदै आएको नेपाल बार एसोसिएसनले यसअघि नै रेग्मीलाई सर्वोच्च र्फिर्न नदिने निर्णय गरेको थियो ।
पुनः न्यायलय जाने बिषय अनाकर्षक भएको भन्दै रेग्मीले निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा सन्तोष र गौरवको अनुभूति भएको बताए ।
‘एक बर्षभित्र संबिधान निर्माण गर्ने दलहरुको दायित्व र चुनौति दुवै हो’, उनले भने, ‘संबिधान निर्माण भए मेरो आत्मालाई शान्ति मिल्छ ।’ नयाँ सबिधानसभाले जनताको संबिधानको चाहनालाई मूर्त रुप दिने विश्वास रेग्मीले व्यक्त गरे ।
उनले आफ्नो नेतृत्वमा सरकार गठन तत्कालीन बाध्यात्मक परिस्थितिको उपज भएको भन्दै सरकारले जिम्मेवारी पूरा गरेको बताए । ‘हरेक सैद्दान्तिक मान्यताको अपवाद हुन्छन्’, आफूले सरकार नेतृत्वको जिम्मेवारी लिनुको कारण खुलाउदै उनले भने , ‘त्यस्ता अपवादको उद्देश्य मान्यातालाई बिस्थापित बनाउने हुनुहुन्न ।’
आफ्नो नेतृत्वको सरकारको उद्देश्य निर्वाचन सम्पन्न गराउनु भएपनि सार्वजनिक आलोचना खेपेरै सुशासन, विकास निर्माण, मानवअधिकार र आर्थिक सुशासनको लागि अधिकतम काम गरेको उनको दाबी थियो । उनले आफ्नो नेतृत्वको सरकारले रिक्त रहेका संबैधानिक अंगमा पदाधिकारी नियुक्ती गरेको र बजेट सार्वजनिक गर्दै मुलुकलाई निकास दिन सघाएको बताए । EKANTIPUR