काठमाडौ, माघ २८ – त्रिभुवन विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्री सुशील कोइरालाले २४ घण्टा भित्र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गर्न निर्देशन दिएका छन् । आजै सपथ ग्रहण गरी कार्यकार सम्हालेको प्रधानमन्त्री कोइरालाले त्रिवि पदाधिकारीलाई यस्तो निर्देशन दिएका हुन् ।
डिन नियुक्तीको बिषयमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसी चौथो पटक अनसनमा छन् भने चिकित्सकहरु आन्दोलनमा छन् ।
मेडिकल कलेजलाई सम्बन्धन दिने बिषयमा दवाव खेप्न नसकी तत्कालीन डिन प्रकाश सायमीले राजिनामा दिएपछि बल्झिएको डिन विवाद अझैं सल्टिएको छैन् । सायमीको राजिनामा स्वीकृत गर्दै त्रिवि कार्यकारी परिषद्ले विवादित छविका डा. शशि शर्मालाई नियुक्त गरेपछि डा. केसी १४ दिन लामो अनसन बसेका थिए ।
केसीको अनसन र चिकित्सक आन्दोलनका कारण त्रिविले डा. शर्मालाई बर्खास्त गरेको थियो । डा. केसीको १४ दिन लामो अनसन तोडाउन सरकारले राजिनामा गरेका सायमीको पुर्नवहाली वा वरिष्ठताको आधारमा नयाँ डिन नियुक्तीको प्रतिबद्धता जनाएको थियो ।
आफ्नो माग पूरा नभएको भन्दै डा. केसी शनिबारदेखि पुनः अनसनमा छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनको बिषयमा केसी अनसन बसेको यो चौथो पटक हो ।
त्रिवि कार्यकारी परिषद्ले डिन नियुक्तीको सिफारिसको लागि तीन सदस्यीय खोज समिति बनाए पनि समिति सदस्य दीपक महराले राजिनामा दिइसकेका छन् । समितिले अहिलेसम्म प्रतिवेदन बुझाउन सकेको छैन् ।
प्रकाशित मिति: २०७० माघ २८ EKANTIPUR