काठमाडौँ -सरकारले आर्थिक अवस्था कमजोर भएका घरवारविहीन व्यक्तिहरूका लागि सामूहिक आवास निर्माण गर्न लागेको छ। सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७०/७१ भित्रमा दुई हजार ५०० वटा सामूहिक आवास निर्माण गर्न लागेको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार सरकारले पहिलो चरणमा तीन हजारभन्दा बढी सामूहिक आवास निर्माण गरिसकेको भए पनि सो आवासले घरवारविहीनको माग सम्बोधन हुन नसकेका कारण थप नयाँ आवासको निर्माण गर्न लागेको हो।
मन्त्रालयका सहप्रवक्ता कवीन्द्रविक्रम कार्कीले घरवारविहीन व्यक्तिहरूको मागलाई सम्बोधन गर्दै हाल २७ जिल्लामा यो कार्यक्रम लैजान लागेको जानकारी दिए। उनले पहिलो चरणमा रोल्पा, दाङ, डोटी, अछाम, सप्तरी तथा धादिङमा यस्तो व्यवस्था गरिसकेको बताउँदै दोस्रो चरणमा ५० वटा भवनको निर्माण कार्य सुरु गरेको जानकारी दिए।
नेपालमा कति जनसङ्ख्या घरवारविहीन छ भन्ने आधिकारिक विवरण मन्त्रालयसँग नभएका कारण सबै व्यक्तिको माग सम्बोधन हुने वा नहुनेमा भने दुविधा भएको भन्दै भवन निर्माण भइसकेका जिल्लामा पनि आवश्यक परेमा थप भवन निर्माण गर्न सकिने उनले बताए।
मन्त्रालयले आयोजना सुरु भएका जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई घरवारविहीन व्यक्तिको पहिचान गर्ने जिम्मा दिई पहिचानसहितको प्रतिवेदनका आधारमा विभिन्न जिल्लामा आवास निर्माण गर्दै आएको जनाएको छ ।
धादिङमा ३० वटा सामूहिक आवासका लागि सम्झौता भएको र सप्तरीमा पनि ३० वटै भवनका लागि जग खन्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा निर्माण भएका सामूहिक आवास भवनमा सरकारले रु ६० करोड लगानी गरिसकेको छ भने दोस्रो चरणको कार्यक्रमअन्तर्गत रु ५० करोड लाग्ने मन्त्रालयको अनुमान रहेको छ। RSS