सन्धिखर्क, अर्घाखाँची, फाल्गुन ४ – नेपाल वायू सेवाको बिमान अर्घाखाँचीको खिदिम-८ स्थित जंगलमा खसेको र दुर्घटनामा चालक दलका तीन सदस्यसहित १८ जनाको मृत्यु भएको आशंका गरिएको छ ।
विमानका यात्रुमा कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, कृषि विकास कार्यालयका प्रबन्धक राजेन्द्र देवकोटा शिक्षक दम्पत्ती टेकबहादुर महतरा र नन्द महतरा, सञ्चारकर्मी एवं शिक्षक गौरी कठायत, चिकित्सक आइबी पोखरेल, जुम्ला जनस्वास्थ्यकी नर्स वर्षा हमाल र उनका छोरा रहेको जुम्लाका स्थानीय शान्तिलाल महतले जनाएका छन्। यसैगरी अन्यमा आइडी श्रेष्ठ, डी महतरा, बिपी उपाध्याय, यु तामाङ, आर चौलागाई, डिआर शाह र डी न्यौपाने रहेको नेपाल एयरलाइन्सका प्रवक्ता रामहरि शर्माले जनाएका छन्।
दुर्घटनास्थल अर्घाखाँची, गुल्मी र पाल्पाको सिमानामा पर्छ । आज पोखराबाट जुम्लाका लागि उडेको ट्वीनअटर बिमान १ बजेर १३ मिनेटमा सहयोगका लागि भैरहवा बिमानस्थलको सम्पर्कमा आएपछि सम्पर्कबिहीन भएको थियो । दुर्घटनास्थल भनिएको अर्घाखाँचीको खिदिमस्थित जंगल पुगेका प्रहरी, स्थानीय र सञ्चारकर्मीको टोलीले दुर्घटनाग्रस्त जहाज नभेटिएको जनाएको छ । उद्दार कार्यका हेलिकप्टरमा खटिएको नेपाली सेनाको टोलीले पनि दुर्घटनास्थल पत्ता लागिनसेको जनाएको छ ।
१२ बजेर ४० मिनेटरमा पोखराबाट उडेको ९ एन एबीबी कल साईन भएको जहाज साढे एक बजेसम्म जुम्ला पुगिसक्नुपर्ने थियो । जहाजका पाइलट शंकर श्रेष्ठ थिए । सहायक पाइलट रविन्द्र बञ्जारा र परिचारिका मुना महर्जन थिए ।
बिमान खसेको आशंका गरिएको जंगलबाट धुँवाको मुस्लो आएपनि घटनाको पुष्टी भइसकेको छैन् । घटनास्थल र वरपरका जिल्लामा असिना पानीसँगै कुहिरो लागेको छ ।
स्थानीयबासीको अनुसार घटनास्थलमा हेलिकप्टर आएर अवतरण गर्न खोजेपनि खराब मौसमका कारण फर्किएको छ । घटनास्थलतर्फ पाल्पाको तानसेनबाट नेपाली सेनाको टोली र मुझुम प्रहरी चौकीबाट प्रहरी गइरहेको छ । पाल्पाको तानसेनबाट घटनास्थल पुग्न दुई घण्टा लाग्छ । खोजीका लागि नेपाली सेनाको हेलिकप्टर परिचालित छ ।
केही समाचार RSS, NAGARIKNEWS, EKANTIPUR बाट