भैरहवाको अस्पतालमा प्रशिक्षार्थी डाक्टरले उपचार गर्दा अर्घाखाँची भगवतीका एक जना बिरामीको मृत्यु

भैरहवा (२०७० फागुन ०५ सोमबार)। भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ शिक्षण अस्पतालमा प्रशिक्षार्थी डाक्टरले उपचार गर्दा अर्घाखाँची भगवती-६ ढिकुराका एक जना बिरामीको मृत्यु भएको छ। 
प्रशिक्षार्थी डाक्टरले उपचार गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले शव बुझ्न मानेका छैनन्। 
 
दुई साताअगाडि सो अस्पतालको मानसिक वार्डमा भर्ना भएका भगवती ढिकुराका ३६ वर्षीय अर्जुन पाण्डेको उपचार सकी डिस्चार्ज गर्ने दिन आइतबार बिहान मृत्यु भएको थियो। उनको मृत्यु स्वाभाविक नभएको र प्रशिक्षार्थी डाक्टरले आफूले सिक्न बिरामीलाई जबर्जस्ती इलेक्ट्रिक करेन्ट सप्लाई (ईसीटी) गर्दा मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन्। 
 
मृतकका भिनाजु रामप्रसाद पाण्डेयका अनुसार सोमबार उनको डिस्चार्ज हुने दिन थियो । र, अन्तिम ईसीटी पनि । ईसीटी गर्दा खाली पेट रहनुपर्ने थियो। तर, बिरामीले बिहान पानी खाइसकेकाले उनको नियमित उपचार गर्दै आएका डा. सञ्जीव रञ्जनले ईसीटी गर्न नमिल्ने भन्दै अर्को दिनलाई सारेका थिए । तर, सो कुरा जानकारी गराउँदागराउँदै पनि पछि अस्पतालमा इन्टर्नसिप गरिरहेकी एक महिला डाक्टरले जबर्जस्ती ईसीटी कोठामा बिरामी लगी उपचार गर्दा उनको मृत्यु भएको पाण्डेले दाबी गरे । 
 
कोठाभित्र लैजाँदा उनी टाठै थिए । उनलाई ९५ प्रतिशत रोग निको भएको हामीले ठानेका थियौं, मृतक नजिकैको बेडमा छोराको उपचार गराइरहेका अर्घाखाँची सन्धिखर्कका हिमाल भुसालले भने, ईसीटी गरेर डाक्टर निक्लिइन्, पछि हेर्न जाँदा अर्जुनको मृत्यु भइसकेको थियो । उनको मृत्युसँगै गाइँगुइँ सुरु हुन लागेपछि अस्पताल प्रशासनले अवस्था जटिल रहेको भन्दै सघन उपचार कक्ष (आईसीयू) मा लगेको थियो । तर, केही समयपछि सो कोठामा रहेका अन्य बिरामी पाण्डेको मृत्युको खबरपछि त्रसित बनेका थिए।
 
अस्पतालले आईसीयूमा उपचार गराइरहँदा बिहान साढे ८ बजेतिर पाण्डेको मृत्यु भएको घोषणा गरेको हो । घटनापछि आक्रोशित बनेका आफन्तले बुझ्न नमानेपछि शव आईसीयूमै राखिएको छ । पीडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरी दोषी डाक्टरलाई कारबाही गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिइनुपर्ने र अस्पतालमा अब आइन्दा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् । यी माग पूरा नहुन्जेल शव नबुझ्ने मृतकका भिनाजु रामप्रसादले बताए । मृतक पाण्डेका श्रीमती र दुई छोरा छन् । 
 
अस्पताल प्रशासनले भने मानसिक वार्डमा भएको यो घटना पहिलो भन्दै यसलाई आफूहरूले गम्भीर रूपमा लिई छानबिनका लागि सात सदस्यीय कमिटी गठन गरेको जनाएको छ । अस्पतालका प्रोफेसर डाक्टर कैलाश चन्द्रको संयोजकत्वमा गठित कमिटीले दिने प्रतिवेदनका आधारमा थप निर्णय लिइने कलेजका प्रशासकीय अधिकृत श्रीकुमारले जानकारी दिए । 
समाचार स्रोत: राजधानी
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु