नेपाल वायु सेवा निगमको विमान अर्घाखाँचीको मसिनालेक जंगलमा क्षतविक्षत अवस्थामा फेला, सबै १८ यात्रुको निधन


 

५ फागुन, खाँचिकोट, अर्घाखाँची – आइतबार दिउँसोबाट हराएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अर्घाखाँचीको खाँचिकोट गाविसस्थित मसिनालेकमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।  जहाजमा सवार सबै यात्रुको निधन भएको छ। 

 

विमानमा सवार सबै १८ यात्रुको शव फेला परिसकेको छ। शवहरु क्षत विक्षत अवस्थामा छन्। शंकलन भएका शवमध्ये ४ जनाको शव केही चिनिने अवस्थामा छ। 



दुर्घटनास्थल समुन्द्र सतहदेखि करिब सात हजार फिट उचाईमा रहेको उद्दारमा रहेको नेपाली सेनाले जनाएको छ । जहाज खसेको भनिएको डाँडामा नेपाल टेलिकमको टावर पनि छ ।



यसअघि खिदिममा दुर्घटना भएको भनिएको थियो । मसिनेलेकको डाँडामा ठोकिएर जहाज दुर्घटना भएको अनुमान गरिएको छ । विमानका टुक्रा र मृतकको शवका टुक्रा २-३ सय मिटर वरपर छरपस्ट अवस्थामा भेटिएका छन् ।



मसिनेलेकमा रहेको टेलिफोन टावरको उत्तरपूर्व २ सय मिटर तल खोंचमा दुर्घटनाग्रस्त जहाज भेटिएको हो।

स्थानीय युवाहरुसँग बिहान हिउँ खेल्न जाने क्रममा करिब ६ बजे जहाजको सानो अवशेष फेला परेपछि खोजी गर्दै जांदा अन्य अवशेष पनि फेला पारेका हुन् ।

 

काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको विमानमा चालक दलका सदस्य र एक बालकसहित १८ जना थिए । 



अन्तिम पटक १: १३ मा भैरहवा विमानस्थलसँग सम्पर्क हुँदा क्याप्टेनले मौसम खराव रहेको सूचना दिएका थिए । अपराह्नतिर त्रिभुवन विमानस्थल टावरका अधिकारीहरुले विमान अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना आशंका गरेका थिए ।





नेपाल वायुसेवा निगमको काठमाडौबाट  पोखरा हुँदै जुम्ला जाँदै गर्दा बेपत्ता भएको जहाजमा निम्न यात्रु तथा चालक दलका सदस्य थिए।

 

विमानको पाइलट शंकर श्रेष्ठ,

को-पाइलट रवीन्द्र बन्जारा

एयर होस्टेस मुना महर्जन

कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल,

पत्रकार गौरी कठायत,

टेकबहादुर महतरा,

नन्दा महतरा,

डी महतरा,

वर्षा हमाल न्यौपाने,र उनका नाबालक छोरा

उमा तामाङ,

डा. विकल्प पोखरेल,

डीपी उपाध्याय,

राजेन्द्रप्रसाद देवकोटा,

दीपक ङेष्ठ,

डि शाही,

आार चौलागाई

तथा डेनमार्कका नागरिक एम म्याथिसेन छन्।