संविधानसभाको अध्यक्षमा एमालेका नेता सुवास नेम्वाङ निर्विरोध निर्वाचित

काठमाडौ, फाल्गुन ६ – संविधानसभाको अध्यक्षमा नेकपा एमालेका नेता सुवास नेम्वाङ निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा नेम्वाङको मात्र उम्मेदवारी परेको र मंगलबार बसेको संविधानसभा बैठकमा सबै दलले उनलाई समर्थन गरेपछि उनी सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन् । उनी अघिल्लो संविधानसभामा पनि अध्यक्ष थिए ।
संविधानसभाको अध्यक्ष व्यवस्थापिका संसदको सभामुख हुने प्रावधान छ ।  नेम्वाङको प्रस्तावक एमाले संसदीय दलका नेता केपी शर्मा ओली र समर्थकमा नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौला थिए । संविधानसभा बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत कतिपय नेताले ०६९ जेठ १४ गते राति संविधानसभा बैठक नबोलाएर नेम्वाङले गल्ती गरेको भन्दै आलोचना गरेका थिए । बैठकमा दलका नेताहरुले नेम्वाङको पक्षमा धारणा राखिसकेपछि सभामुखको भूमिका निर्वाह गर्दै आएका जेष्ठ सदस्य सुर्यबहादुर थापाले उनलाई निर्वाचित भएको घोषणा गरेका थिए ।
सर्वसम्मत निर्वाचित भएपछि संविधानसभा परिसरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेम्वाङले विगतको कमी कमजोरीलाई केलाएर त्यसबाट सिक्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले एक वर्ष भित्र संविधान जारी गर्ने प्रतिवद्धता अनुरुप आफूले काम गर्ने बताए । ‘जनताको मतको सम्मान र कदर गर्दै यो वर्ष भित्रमा संविधान बनाउन सक्नुपर्दछ,’ उनले भने ‘चुनौतिलाई अवसरमा बदिलिन सिंगो मुलुक र दलहरु एकजुट भएर अगाडि बढ्न आवश्यक छ ।’
Ekantipur