मन्त्रिपरिषद विस्तार गर्न अझै केही दिन लागे अन्तर्राष्ट्रिय समुदायमा नराम्रो सन्देश जाने अर्थविद्हरु भनाई

काठमाडौं, फाल्गुन ७ । मन्त्रिपरिषद विस्तार गर्न अझै केही दिन लागे अन्तर्राष्ट्रिय समुदायमा नराम्रो सन्देश जाने र त्यसले अर्थतन्त्रमा असर पार्ने अर्थविद्हरुले बताएका छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा निजी क्षेत्रका प्रतिनिधि र अर्थविद्ले सरकारलाई पूर्णता दिन ढिला गर्न नहुनेमा जोड दिएका छन् । साथै, उनीहरुले आर्थिक मुद्दालाई सबैले ध्यान दिनुपर्नेमा पनि जोड दिएका छन् ।
साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स् एण्ड इन्भावरमेन्ट (सावती) का अध्यक्ष डा. पोषराज पाण्डेले सरकारले पूर्णता पाउन अझै केही दिन लागे विदेशी लगानीकर्ता र व्यापार साझेदार मुलुकले हेर्ने दृष्टिकोणमा नकारात्मक असर पर्ने बताए । उनले निजी क्षेत्रलाई अगाडि बढाई लगानीमैत्री वातावरण बनाउनुपर्नेमा पनि जोड दिए ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकमा पैसाको अभाब नरहेको भन्दै सही व्यवस्थापनका लागि सरकारी नीतिहरुको अभाव भएको बताए । उनले निजी क्षेत्रको समस्या सम्बोधन नभएसम्म मुलुकको अर्थतन्त्रले निकास पाउन नसक्ने भन्दै संविधान सभामा निजी क्षेत्रको सहभागितामा जोड दिए ।
नेपाल चेम्बर अफ कर्मशका निवर्तमान अध्यक्ष सुरेन्द्रवीर मालाकारले अहिलेको सरकारप्रति निनी क्षेत्र उत्साहित रहेको बताए । निजी क्षेत्रले देशमा स्थायी सरकार खोजे पनि अहिलेसम्म पाउन नसकेको भन्दै उनले दलहरुको आश्वासन र घोषणापत्रमा गरिएको प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जोड दिए । IMAGECHANNELS