स्वर्ग हाम्रो (कविता)

कोमल भट्ट 
********************
कति हुनु छ विरानो ? दिक्क लागेर आयो
रहर जति सवै नै,भित्र बाटै हरायो
भत भत भत पोल्दै,दुख्न लागेछ छाती
सहन सकिन पीडा,आँसु बर्षिन्छ राती ll १ ll
नियति अझ कठोरै,रैछ यो आज जानेँ
जनपद संग टाढा,बस्नु दुर्भाग्य ठानेँ
झलमल छ विदेशै,तै नि लाग्यो अँधेरो
बरु सकस सहौंला,देश आफ्नै छ प्यारो ll २ ll
अति सरस छ भाषा,भेष सारा रिवाज
सब जन सित मायाँ,स्वच्छ ऊँचो छ भाव
सकल जन मिलेमा,बन्छ नेपाल राम्रो
जनम थल नबिर्सौं,त्यै त हो स्वर्ग हाम्रो ll ३ ll