अमेरिकामा सेनाको संख्या घटाएर अहिलेसम्मकै सानो आकारको बनाइने

अमेरिकामा सेनाको संख्या घटाएर अहिलेसम्मकै सानो आकारको बनाइने भएको छ । रक्षामन्त्री चक हेगलले अमेरिकी सेनाको संख्या घटाउने योजना अगाडि सारेपछि अमेरिकी सेनाको आकार घट्ने भएको हो ।
रक्षा मन्त्रालय पेन्टागनमा बोल्दै रक्षा मन्त्री हेगलले लामो समयसम्म चल्ने सैन्य अभियानका लागि सेनाको आकार नबढाइने बताए । अहिलेको अमेरिकी सेनाको आकार सुरक्षा आवश्यकता भन्दा निकै धेरै रहेको हेगलको भनाइ थियो ।
यो योजना लागू भएमा ५ लाख २० हजारबाट अमेरिकी सेनाको संख्या ४ लाख ५० हजारमा झर्ने छ । यो संख्या दोस्रो विश्वयुद्ध भन्दा पहिलेको अमेरिकी सेनाको संख्या भन्दा पनि कम हो ।
हेगलले सन् २०१७ सम्म सेनाको विभिन्न आन्तरिक निकाय पनि बन्द गर्ने बताए । अमेरिकी रक्षा मन्त्रालयको यो योजना अमेरिकी कंग्रेसबाट स्वीकृति हुन बाँकी छ ।
विपक्षी रिपब्लिकनले यस प्रकारको कटौतीबाट सेनाको प्रभावकारितामा असर पुग्ने भन्दै विरोध गरेको छ । (एजेन्सी)