नेपाली कांग्रेसका संस्थापक एवं पूर्व सभापति कृष्णप्रसाद भट्टराईको तेस्रो स्मृति दिवस

कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको आज स्मृती दिवस, विभिन्न कार्यक्रम गरेर मनाइदै
काठमाडौं, फाल्गुन, २० ।  नेपाली कांग्रेसका संस्थापक एवं पूर्व सभापति कृष्णप्रसाद भट्टराईको तेस्रो स्मृति दिवस आज मनाईदैछ । नेपाली राजनीतिका सन्त नेता पूर्व प्रधानमन्त्री भट्टराईको स्मृति दिवसमा उनको नाममा रहेको ललितपुर बाँणे गाउँस्थित आश्रममा विभिन्न कार्यक्रम गरिँदैछ ।
२०६७ साल फागुन २० गते ८७ वर्षको उमेरमा निधन भएका भट्टराईको स्मृतिमा हुने कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिलाई आमन्त्रण गरिएको छ । किसुनजीको स्मृति दिवसका अवसरमा बाणेगाँऊबाट निष्ठा, अध्यात्म र शान्तिको सन्देश दिने खालका कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । विस १९८१ मा जन्मिएका किसुनजीले राणाशाही र पञ्चायतविरुद्ध अनवरत संघर्र्षका क्रममा लामो समय जेल जीवन विताएका थिए ।
२०४६ सालको जनआन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गरेका मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान देशलाई दिए । २०४७ बैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उहाँ दुई पटक देशको प्रधानमन्त्री बने ।
२०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधिसभाको पहिलो सभामुख  भएका उनी नेपाल पत्रकार महासंघको संस्थापक सभापतिसमेत थिए । दुई पटक देशको प्रधानमन्त्री र १९ वर्षसम्म नेपाली कांग्रेसको सभापति भएर पनि उनको जीवनशैली वास्तवमै सर्वहारा नेताको जस्तो थियो ।
साँच्चिकै सन्त नेता किशुनजीले राजनीतिमा अध्यात्मलाई पनि सँगै जोडिरहे । पूरै जीवन राष्ट्र र सत्यको खोजीमा समर्पण गरेका किशुनजीले स्थापित गरेका चिन्तन र विचारलाई आजका नेताले ग्रहण गर्न सकेमात्रै देशले खोजेको लोकतान्त्रिक संविधान निर्माणको बाटोले सहजता पाउनेछ । IMAGECHANNELS