अन्तर्राष्ट्रिय व्यापार मेला काठमाडौंमा सुरु

काठमाडौं, फाल्गुन २२ – राजधानी काठमाडौंमा बिहीबार सुरु हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा १ सय ७ स्टल विदेशी कम्पनीहरूले बुकिङ गरेका छन् ।
उद्योग वाणिज्य महासंघले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार भारत, चीन, बंगलादेश, पाकिस्तान र थाइल्यान्डका व्यापारीले भाग लिँदै छन् । महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कारका अनुसार भृकुटीमण्डपमा हुने मेलाका लागि ८२ स्टल बंगलादेशीका, १६ पाकिस्तानीका, ५ भारतीयका २ भुटानीका र २ थाईका स्टल बुकिङ भइसकेका छन् ।
‘यो मेलामा ३ सय ५० वटा स्टलमार्फत वस्तु तथा सेवा प्रदर्शनी हाम्रो तयारी हो,’ उनले भने, ‘मेलाको मुख्य आकर्षण जडीबुटी, बहुमूल्य गरगहना प्रदर्शनी हुनेछ ।’
गरगहना महोत्सव भने सुरक्षाका कारण याक एन्ड यती होटलमा आयोजना गरिएको महासंघले जनाएको छ । प्रदर्शनी २६ गतेसम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन राष्ट्रपति रामवरण यादवले गर्ने तयारी भएको छ । गरगहना प्रदर्शनी भने अर्थमन्त्री रामशरण महतले उद्घाटन गर्ने राजकणिर्कारले बताए ।
 Ekantipur
प्रकाशित मिति: २०७० फाल्गुन २२