कांग्रेसले आफ्ना सभासदहरूलाई फागुन २६ देखिको व्यवस्थापिका बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौं, फाल्गुन २३ – व्यवस्थापिका संसद्मा गणपुरक संख्या नपुगेर सदनको कारबाही स्थगित भएको भोलिपल्ट सत्तारूढ कांग्रेसले आफ्ना सभासदहरूलाई फागुन २६ देखिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।
प्रधानमन्त्री एवं संसदीय दलका नेता सुशील कोइरालाको निर्देशनमा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव चीनकाजी श्रेष्ठले सभासदहरूलाई शुक्रबार पत्राचार गरी अनिवार्य उपस्थित हुन उर्दी जारी गरेका हुन् । कांग्रेसले प्रमुख सचेतक र सचेतक मनोनयन नगरिसकेकाले मुख्यसचिवमार्फत निर्देशन दिएको हो ।
श्रेष्ठले पत्रमा संसद्को आगामी बैठकमा सरकारतर्फबाट प्रस्तुत हुने अध्यादेशहरू स्वीकृतिका पक्षमा मतदान गर्न अनिवार्य उपस्थित हुन भनेका छन् । सरकारले बिहीबार सुपुर्दगी अध्यादेश २०६९ र संगठित अपराध निवारण अध्यादेश २०६९ स्वीकृतिका लागि सदनमा प्रस्तुत गर्न लाग्दा प्रतिपक्षी एमाओवादीका सभासद रामनारायण बिडारीले गणपूरक संख्या नपुगेको भनी नियमापत्ति गरेपछि सभामुखले कारबाही स्थगित गरेका थिए ।
 Ekantipur
प्रकाशित मिति: २०७० फाल्गुन २३