मूल्यबृद्धि विरुद्ध आन्दोलनको घोषणा, काठमाडौं अस्तव्यस्त

काठमाडौं, चैत्र १ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम थालेका छन् । अनेरास्ववियु क्रान्तिकारीको कार्यालयमा आज बसेको १३ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले विरोधका कार्यक्रम सार्वजनिक गरेसँगै आन्दोलन थालिएको हो ।
विद्यार्थीहरुले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई मूल्यबृद्धि फिर्ता लिन अनुरोधसहित ज्ञापनपत्र बुझाउने, सोमबार र मंगलबार देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेर सरकारी गाडी चल्न नदिने र बुधबार मसाल जुलस प्रदर्शन गर्नेलगायतका निर्णय गरेका हुन् ।
यसैबीच, पेट्रोलियम पदार्थको मूल्लबृद्धिको विरोधमा एमाले भातृ संगठन युवा संघ नेपालले गरेको आन्दोलमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा भएको धरपकड र लाठीचार्जले केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । राजधानीको नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शनका क्रममा युवासंघका महासचिव राजीव पहाडी लगायतका घाइते भएका हुन् । घाइतेहरुको सिभिल अस्पतालमा उपचार भएको छ ।
यस्तै, राजधानीका दुई ठाउँमा सरकारी गाडी जलाइएको छ । अज्ञात समूहले नयाँबानेश्वर र एयरपोर्टमा सरकारी गाडी जलाएका हुन् ।
एयरपोर्टमा बा१झ ३७७८ नम्बरको कार तथा मध्यबानेश्वरमा बा१झ ५६८० नम्बरको शिक्षा मन्त्रालयको कारमा आगलागी गरी युवाहरु भागेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् । प्रहरीले आगो लगाउनेहरु विद्यार्थीहरु भएको अनुमानमा उनीहरुको खोजी भइरहेको जनाएको छ । IMAGECHANNELS