स्याङ्जा, चैत्र २ – मन्दिर दर्शनका लागि यात्रु लिएर हिँडेको जीप पेलाकोट-९ सानोथुम्कीमा दुर्घटना हुँदा एकै परिवारका तीनसहित ७ को मृत्यु भएको छ । दुर्घटनामा परी ७ गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा जगत्रदेवी-८ तल्लो गल्याङका ३९ वर्षीय मनबहादुर नेपाली, उनको पत्नी ३५ वर्षीया ज्ञानु नेपाली र छोरी १६ वर्षीया सीता नेपाली, ३५ वर्षीया शोभा थापामगर, तिनदोवाटेका २४ वर्षीय कमल थापा, कालीकाकोटकी ३५ वर्षीया किसमाया सार्की र पेलाकोट ४ का ३५ वर्षीय सुकवहादुर सारुमगर छन् ।
दुर्घटनामा परी घाइते हुने जगत्रदेवि ८ तल्लो गल्याङकै ३५ वर्षीया पानु विक, २५ वर्षीया रम्वा थापा, ३५ वर्षीय होमबहादुर थापा, २५ वर्षीया मिना विक, १२ वर्षीया हेमा थापा, १० वर्षीया हेमा राना, र ४० वर्षीय जीप चालक रेशम थापा रहेको वडा प्रहरी कार्यालय वालिङका सहायक प्रहरी निरीक्षक युवराज पाण्डेले बताए ।
मृतक सीता नेपाली ज्ञानु नेपालीकी बहिनीकी छोरी हुन् भने कासीमाया सार्की फूपूकी छोरी हुन् । घाइते हुने पानु विक मृतक ज्ञानु नेपालीकी वहिनी हुन् ।
दुर्घटनाका मृतक र घाइते सवै तल्लो गल्याङ बजारमा बस्दै आएका थिए । उनीहरु होली पूणिर्माको अवसर पारेर सिर्सेकोट ९ मा रहेका अकलादेवी मन्दिरमा पूजा गर्न जीप रिजर्भ गरेर हिँडेका थिए । बिहान करिव सवा ८ बजे तल्लो गल्याङवाट हिँडेको जीप १५ मिनेटपछि नै दुर्घटना भएको थियो । जीप करिव दुई सय मिटर तल खसेको थियो ।
घाइते सवैको पाल्पास्थित मिसन अस्पताल र लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको छ । ग्रामीण कच्ची सडक धेरै उकालो भएको हुँदा गाडी आफै पछाडी धकेलिएर भीरमा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजामा प्रहरी निरीक्षक सन्तोष तामाङले बताए ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र २