काठमाडौं, चैत्र ६ । सरकारले पेट्रोलियम पदार्थको बढेको मूल्यमा कटौती गरेको छ । आज दिउँसो सरकारले संसद बैठकलाई मूल्य घटाएको सम्बन्धमा जानकारी दिएको हो । पेट्रोलमा १० रुपैयाँ बढेकोमा ५ रुपैयाँ ५० पैसा घटाएर प्रतिलिटर १ सय ३४ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
यस्तै, डिजेल र मट्टीतेलमा ६-६ रुपैयाँ बढेकोमा ३ रुपैयाँ ५० पैसा घटाएर प्रतिलिटर १ सय ४ रुपैयाँ ५० पैसा कायम गरिएको छ । हवाई इन्धनमा भने बढेको मूल्यलाई नै यथावत राखिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धिपछि केही दिनदेखि लगातार संसद अवरुद्ध भएपछि आज सरकार, प्रतिपक्षी दलहरु र आयल निगमका पदाधिकारीबीच वार्ता गरेर नयाँ मूल्य कायम गरिएको बताइएको छ । मूल्य घटाइएपछि संसद बैठक पनि सुचारु भएको छ ।
यसअघि बसेको संसद बैठक मूल्यबृद्धिकै विषयलाई लिएर अवरुद्ध भएको थियो । मूल्यबृद्धि विरुद्ध विभिन्न विद्यार्थी संगठनहरुले पनि सडक आन्दोलन गर्दै आएका छन् । RSS, IMAGECHANNELS