प्रधानमन्त्री कोइरालासहित चार पूर्वप्रधानमन्त्री अधिकारी दम्पतीलाई भेट्न वीर अस्पतालमा

आफ्ना छोरालाई माओवादी कार्यकताले हत्या गरेको र सरकारले त्यसको अनुसन्धान नगरेको भन्दै १ सय ४७ दिनदेखि अनसन बसेका अधिकारी दम्पतिलाई भेट्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित ४ जना पूर्वप्रधानमन्त्रीहरु शुक्रबार दिउँसो वीर अस्पताल गएका छन्। 
 
नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी दम्पतीलाई भेटेर अहिले उनीहरु वीर अस्पतालका भिसी दामोदर पोखरेलको च्याम्बरमा पुगेका छन्। दाहालसँगै पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, शेरबहादुर देउवा र माधवकुमार नेपाल वीर पुगेका हुन्। 
 
चार पूर्व प्रधानमन्त्रीभन्दा केहीबेरअघि प्रधानमन्त्री सुशील कोइराला पनि अधिकारी दम्पतीलाई भेट्न वीर अस्पताल पुगेका थिए। 
 
छोराका हत्यारालाई कारबाही माग राखेर एक सय ४७ दिनदेखि वीर अस्पतालमा आमरण अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नी गंगामायाको स्वास्थ्य गम्भीर बन्दै गएको छ। नन्दप्रसादको भन्दा पनि गंगामायाको अवस्था थप चिन्ताजनक बनेको छ।
 
उनीहरूको अवस्था गम्भीर बन्दै गएको र माग सम्बोधन गर्न सरकारले चासो नदेखाएपछि मानवअधिकारकर्मीले तत्काल पर्याप्त कार्यादेशसहितको अन्तर्राष्ट्रिय सत्य निरूपण मिसन नेपालमा पठाइदिन राष्ट्रसंघीय मानवअधिकार उच्चयुक्त नवी पिल्लेलाई पत्र पठाएका छन्।
 
नेपालका लागि राष्ट्रसंघका आवासीय प्रतिनिधि जेमी म्याकगोल्ड्रिकमार्फत पिल्लेलाई पठाइएको पत्रमा न्यायको खोजीमा सत्याग्रह गरिरहेका अधिकारी दम्पतीको स्वास्थ्य चिन्ताजनक हुँदै गएको र कुनै पनि बेला अप्रिय स्थिति उत्पन्न हुनसक्ने उल्लेख छ।
 
पत्रमा नेपालमा दण्डहीनताकै कारण अधिकार दम्पतीका कान्छा छोरा कृष्णप्रसादका हत्याराले सजाय नपाएको जनाइएको छ। द्वन्द्वत्तोर न्याय र क्षतिपूर्तिबारे सरकारले कुनै विश्वसनीय र प्रभावकारी कदम नचालेको पनि पत्रमा लेखिएको छ।
 
गंगामायालाई खोकी र छाती दुखाइले सास फेर्न कठिनाइ भएपछि समयसमयमा अक्सिजन दिनुपर्ने अवस्था आएको छ। दुई दिनदेखि उच्च ज्वरो आइरहेको छ। ज्वरो स्लाइनमार्फत औषघि दिँदा पनि नियन्त्रणमा आएको छैन। उनको रुद्रघण्टी वरपर सुन्निएको छ।
 
गंगामायाको बोली पनि निकै कमजोर भएको छ। अधिकारी दम्पतीमा पेट पोल्ने र घाँटी दु ने समस्या पनि देखिएको छ। स्वास्थ्यकर्मीले सघन उपचार कक्षमा लैजान गरेको आग्रह पनि उनीहरूले मानिरहेका छैनन्।
 
नन्दप्रसादले सरकारी निकायले अपराधीलाई पक्रनुभन्दा बचाउन खोजेको आशंका आफूलाई भएको बताए। आरोपीमध्ये एकलाई विदेशबाट ल्याइँदै गरेको खबर निकै दिन अघि सरकारी पक्षले सुनाए पनि अहिलेसम्म नल्याइनुले आशंका जन्माएको उनले बताए।
 
छोरा मार्न सघाउने मानिसबाट पनि धेरै कुरा थाहा लाग्न सक्थ्यो, तर सरकारले केही गरिरहेको छैन, उनले थपे।
 
प्रधानमन्त्री बन्नुअघि दुईपटक आफूलाई भेटेका सुशील कोइरालाले न्याय दिलाउन अहिलेसम्म ठोस कदम नचाल्नुले थप पीडा भएको उनले बताए।
 
अधिकारीले छोरा कृष्णप्रसादको हत्या माओवादी कार्यकर्ताले गरेको किटानी जाहेरी चितवन प्रहरीमा दिए पनि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने काम अहिलेसम्म भएको छैन। SETOPATI