काठमाडौं, चैत्र १० । विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी आज मनाइदै छ । हरेक वर्ष मार्च २४ का दिन मनाइने यो दिवस नेपालमा आज मनाइदैछ । छुटेका १० हजार विरामी खोजौं, उपचार गरौं र निको पारौ भन्ने सन्देशसहित यो दिवस मनाउन लागिएको हो ।
देशभर रहेका सबै क्षयरोगी सम्पर्कमा नआएको भन्दै सरकारले सम्पर्कमा नरहेका रोगीको खोजीमा ध्यान केन्द्रित गरेको हो । नेपालमा वर्षेनी ४५ हजारलाई क्षय रोग हुने भएपनि करीब ३५ हजार विरामी मात्र सम्पर्कमा आउने भएकाले छुटेकालाई पनि उपचारमा जोड्न यो सन्देश तय गरिएको हो ।
पछिल्लो तथ्यांक अनुसार नेपालमा ५ देखि ७ हजार व्यक्तिले क्षयरोगकै कारण ज्यान गुमाउने गरेका छन् । सरकारले रोग नियन्त्रणमा ठूलो लगानी गरेपनि नियन्त्रण हुन सकेको छैन । बरु नेपालको आधा जनसंख्यामा क्षयरोगको किटाणु भएको अनुमान गरिन्छ । तर सबैमा यो रोगले आक्रमण गरि हाल्दैन ।
क्षयरोगको उपचार र औषधि निःशुल्क पाइने भएपनि सबै रोगी उपचारसम्म पुग्ने गरेकै छैनन् । विज्ञका अनुसार एक जना क्षयरोगीले रोग थाहा भएर मृत्यु हुने समयसम्म ग्रामीण क्षेत्रमा १० र शहरी क्षेत्रमा १५ जनालाई संक्रमण गरिसकेको हुन्छ ।
सरकारले देशभरका ४१ हजार केन्द्र र उपकेन्द्रबाट सबै औषधि निःशुल्क बाँड्ने गरेको छ । करीब १ अर्ब ४५ करोड रुपैयाँ त सरकारले यसैका नाममा खर्च गर्ने गरेको छ । – IMAGECHANNELS