सिरहा, चैत्र १० – संबिधानसभा निर्वाचनमा एमाओवादीबाट समानुपातिकतर्फबाट सभासदको उम्मेदवार भएका गंगा पासवानको सट्टामा एसएलसी परीक्षा दिइरहेका वीरेन पासवानलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।
फूलबरीया मावि परीक्षाकेन्द्रमा पासवानको साटो परीक्षा दिंदै गरेको वीरेनलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । वीरेनलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । जनसेवा उच्च मावि कर्जन्हाबाट रोल नम्बर ०१६२२८७यू भएका सभासद् पासवानको सट्टामा वीरेनले परीक्षा दिएका हुन् ।
पासमान र मावि फूलबरीया परीक्षा केन्द्रका केन्द्राध्यक्ष बिन्देश्वर महतो एउटै गाउँको भएकाले मिलोमतोमा नै नक्कली परीक्षार्थी राखेको हुनसक्ने अनुगमन टोलीको आशंका छ ।
स्थानीय जगदीश महतोका अनुसार सभासद् पासवान सामान्य लेखपढ गर्ने व्यक्ति हुन् । ‘सामान्य लेखपढ गर्न जान्ने ब्यक्तिले कसरी टेष्ट पास गरे र एसएलसी दिनेसम्म भएँ अचम्मै लाग्यो’, महतोले भने ।
जनसेवा उच्च मावि कर्जन्हाका प्रधानाध्यापक लक्ष्मी हाईले गंगा यसै विद्यालयबाट टेष्ट उत्तीर्ण गरेको दाबी गरे । उनले सभासद् पारवान बिद्यालय नआई अध्ययन गरेको दाबी गरे ।
सोमबार परीक्षामा जिल्लाबाट खटिएको निरीक्षण टोलीले १४ जना परीक्षार्थीसहित ६ निरीक्षकलाई नियम विपरीत काम गरेको भन्दै निश्कासन गरेको छ । निष्काशितलाई पुन जिम्मेवारी नदिन निर्देशतसमेत दिइएको जिल्ला शिक्षा अधिकराी दीलिप ठाकुरले बताए ।
औरही मावि परीक्षा केन्द्रमा ड्यूटीमा खटिएकी महिला प्रहरीलाई अभद्र व्यबहार गरेको आरोपमा औरही ३ का प्रविनकुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक पूर्णचन्द्र जोशीले बताए ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र १०