१३ चैत, काठमाडौं । सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को २८ औँ शिखर सम्मेलन आगामी कात्तिक २८ गते अर्थात नोभेम्बर १४ मा गर्ने भएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा सार्कको १८ औं शिखर सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापकीय तयारी गर्न सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशन समेत दिएको छ ।
सरकारका प्रवक्ता एवम्सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालका अनुसार बैठकले जमैकासँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने निर्णय गरेको छ । जापानको फुकुआमा अवैतनिक महावाणिज्यदूतावास स्थापना गर्ने र त्यसमा जापानी नागरिकलाई नै महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरिएको छ ।
सरकारले यातनाविरुद्धको अन्तर्राष्ट्रिय समितिका लागि नेपालको तर्फबाट सदस्य पदमा महिला अधिकारकर्मी सपना मल्ल प्रधानलाई उम्मेदवार बनाउने भएको छ ।
यस्त्ौ, स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्न लागेको एक अर्ब ३५ करोड र जापान सरकारले प्रदान गर्न लागेको एक अर्ब रकमको सम्बन्धमा वार्ता गर्न एक समिति बनाउन बैठकले अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । ब्रुनाई सरकारले सेनानी विजलकुमार राई र प्रमुख सेनानी नवराज गुरुङलाई प्रदान गर्न लागेको पदक लिन पनि स्वीकृति प्रदान गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले अर्थ, उद्योग, परराष्ट्र, कृषि, रक्षा, वन तथा भू-संरक्षण, शिक्षा, विज्ञान, प्रविधि तथा वातावरण, सिँचाई, सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका केही प्रथम श्रेणीका अधिकृतहरुको बढुवा गर्ने निर्णय समेत गरेको छ । रासस