१४ चैत, काठमाडौं । सरकारले राहदानी वितरण प्रणालीलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन आवश्यक प्रक्रिया अघि बढाएको छ । यो प्रक्रियासँगै सेवाग्राही लाइन बस्नुनपर्ने भएको छ ।
बिना झन्झट सेवाग्राहीलाई राहदानी वितरण गर्न सरकारले आगामी वैशाख २ गतेदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले हालै राहदानी विभागको स्थलगत निरीक्षण गरी राहदानी उत्पादनको अवस्था, कर्मचारीका समस्या र सेवाग्राहीले झेल्नुपरेका असुविधाबारे जानकारी लिएपछि विद्यमान छवटा काउन्टर फाराम सङ्कलन काउन्टरलाई बढाएर नौवटामा पुर्याउने निर्णय गरेको बताए ।
फाराम बुझाउन लाइनमा नबसी एक घण्टा कुर्नुपर्ने अहिलेको अवस्थालाई ३० मिनेटमा झार्न र त्यसलाई विस्तारै १५ मिनेटमा सीमित गर्नेतर्फ आफूलाई केन्दि्रत गर्न विभागका कर्मचारीलाई निर्देशन दिएको उल्लेख गर्दैै मन्त्री पाण्डेले राहदानीको पीडा हटाउन आफू गम्भीर भएर लागेको बताए ।
राहदानी लिने सर्वसाधारणको भीड राहदानी विभागमा सधैँ लागिरहने र सेवाग्राहीले सास्ती खेप्नुपरेको सन्दर्भमा राससको जिज्ञासामा मन्त्री पाण्डेले उक्त कुरा बताए ।
कम्प्युटर इन्जिनियरलगायत जनशक्तिको व्यवस्थापन, उनीहरूको सेवासुविधा बढाउने र अतिरिक्त भत्ता उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताउँदै उहाँले कर्मचारीलाई कामअनुसार सुविधा दिने स्पष्ट पारे ।
कम्प्युटर इन्जिनियर र अन्य प्राविधिक कर्मचारीले बिहान ७ देखि राति ७ बजेसम्म काम गरिरहेका तर अतिरिक्त समय काम गरेको भत्ता नपाएकाले त्यसप्रति सरकार सकारात्मक रहेको उनको भनाइ छ । राहदानी विभागमा त्यसरी खटिरहेका सबै करार सेवाका कर्मचारी हुन् ।
तयार भइसकेका राहदानी वितरण विभागलाई चुनौती बनेको छ । विशेषगरी जिल्लामा राहदानी पुर्याउन कठिन भएको स्वीकार गर्दै मन्त्री पाण्डेले भने-