नेपालमा झण्डै ५० हजार जना एचआइभी संक्रमित

रोसन पुरी/उज्यालो ।
काठमाडौं, चैत १४ । नेपालमा एचआइभी भाइरसको संक्रमण पत्ता लागेको २४ वर्ष पुग्दा झण्डै ५० हजार नागरिक यसको संक्रमणमा परेका छन् । राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रको पछिल्लो तथ्याङ्कमा झण्डै ५० हजार नेपालीलाई एचआइभीको संक्रमण भएको पाइएको हो ।
राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार जन्मेदेखि १४ वर्षसम्मका ३ हजार ८ सय ४० जना बालबालिकालाई यसको संक्रमण भएको छ । त्यस्तै १५ देखि ४९ वर्षभित्रका ४१ हजार १ सय १० जनालाई संक्रमण भएको छ भने त्यो भन्दा बढी उमेर समूहका ३ हजार ५ सय ५० जनालाई एचआइभीको संक्रमण भएको केन्द्रका निर्देशक डा. नरेश केसीले जानकारी दिनुभयो ।
सरकारी अधिकारीहरुका अनुसार नेपालमा हरेक वर्ष संक्रमितको संख्या बढिरहेको छ । बिभिन्न कारणले गर्दा नेपालमा एचआइभी संक्रमणको जोखिम पनि उच्च रहेको छ । त्यसैले संयुक्त राष्ट्र संघ लगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले यो क्षेत्रमा काम गरिरहेका छन् ।
विज्ञहरुका अनुसार संक्रमणमा पर्नेमध्ये धेरै गरिब नागरिक रहेका छन् । यसको मुख्य कारण आर्थिक अवस्था कमजोर बनेपछि धेरै नागरिक वैदेशिक रोजगारीमा जानु, असुरक्षित यौन सम्पर्क, अप्रशोधित सिरिञ्जको प्रयोग, शिक्षाको कमी र रोगका बारेमा जानकारी नहुँनै हो । त्यति मात्र होइन नेपालमा संक्रमण बढ्नुको मुख्य कारण बालविवाह, घरेलु हिंसा, यौनजन्य क्रियाकलाप र देह व्यापार पनि संक्रमण बढ्नुका कारण देखिएका छन् । संक्रमितहरुलाई हेर्ने हो भने उत्पीडित, उपेक्षित, शिक्षाबाट बञ्चित, स्वास्थ्यमा पहुँच नपुगेका र आर्थिक अवस्था कमजोर बन्नेहरुमा यसको संक्रमण बढी देखिएको छ ।    
 
सेभ द चिल्ड्रेनले हालै सार्वजनिक गरेको एक अध्ययनमा नेपालमा एचआइभी एड्सको संक्रमण दर घटेको देखिएको छ । नेपालका विभिन्न जोखिम समूह मध्ये सबैमा बढी लागु पदार्थ प्रयोग कर्तामा संक्रमण दर घटेकोे छ । सेभ द चिल्ड्रेनका सल्लाहकार आशिष सिनालका अनुसार पहिले लागु पदार्थ प्रयोग कर्तामा ६८ प्रतिशत संक्रमण दर रहेकोमा अहिले घटेर मात्र ६ प्रतिशत छ । त्यस्तै प्रवासी नेपाली, समलिङ्गी तथा तेस्रो लिङ्गी सबैमा संक्रमण दर घटेको छ ।
क्षेत्रगत हिसाबले भारतीय रोजगारीमा त्यहाँका नागरिक अरु क्षेत्रको तुलनामा धेरै जाने भएकाले सुदुरपश्चिम क्षेत्र अझै संक्रमणको जोखिमा छ । त्यस्तै समलिङ्गी तेस्रो लिङ्गी पनि संक्रमणको जोखिममा रहेका सिनालले बताउनुभएको छ । सेभ द चिल्ड्रेनले सरकारसंगको सहकार्यमा बालबालिको स्वास्थ्य, शिक्षा, पोषण लगायतका क्षेत्रमा काम गर्ने तयारी गरेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमण दर घटाउने संसारका विभिन्न ५६ देशमध्ये नेपाल पनि एक हो । अहिले नेपालमा रहेका विभिन्न देशका १ सय ५० जनाभन्दा धेरै विज्ञहरुले यसको अध्ययन गरिरहेका छन् । संसारमा झण्डै २ सय ६२ जनालाई हरेक घन्टा एचआइभीको संक्रमण हुने गरेको भने ४ हजार भन्दा धेरैको एचआइभी एड्सका कारण हरेक दिन ज्यान जाने गरेको छ । नेपालमा झण्डै ५० हजार नागरिक संक्रमित भएको सरकारी तथ्याङ्क भएपनि लुकेर बसेकाको संख्या झण्डै एक लाख भएको अनुमान गरिएको छ । त्यसैले नेपालमा एचआइभी/एड्स महामारीको रुपमा रहेको छ । केन्द्रका निर्देशक डा. केसीका अनुसार रोजगारीका लागि भारत र तेस्रो मुलुकमा जाने तथा तिनका परिवार, यौन व्यवसायी र ग्राहक, लागुपदार्थको प्रयोग गर्नेहरु, समलिङ्गी तथा तेस्रो लिङ्गीहरु यो रोगको जोखिममा पर्ने गरेका छन् ।
अफ्रिकामा सन् १९८३ मा पहिलो पटक यसको संक्रमण भएको र जिवाणुको पत्ता लागेको थियो । नेपालमा त्यसको पाँच वर्षपछि यसको संक्रमण फेला परेको थियो । त्यस लगत्तै नेपालले एचआइभी संक्रमण रोक्नका लागि विभिन्न कार्यक्रम थालेको थियो । शुरुमै नेपालमा नेशनल एड्स नियन्त्रण परियोजना शुरु गरिएको थियो । त्यसको एकवर्षपछि भने केन्द्रको स्थापना गरेर यसको रोकथामका लागि प्रयास थालिएको छ । सन १९९१ देखिनै नेपालमा गैरसरकारी क्षेत्रबाट पनि अर्बौ रुपैयाँ यसको रोगथामका लागि खर्च भएको छ ।
भौगोलिक हिसाबले सबैभन्दा जोखिम मानिएको सुदूरपश्चिममा मात्र हजारको हाराहारीमा गैरसरकारी संघसंस्था क्रियासिल छन । तर मानिसमा खर्च अनुसार चेतना अभिवृद्धि भने हुुन सकेको छैन । अहिले जिल्ला तथा गाउँस्तरसम्म विभिन्न प्रकारका संयन्त्रहरु बनिसकेका छन् । तर पनि एचआइभी संक्रमितलाई हेला गर्ने चेतना हराउन सकेको छैन । अझै पनि समाज, कार्यस्थल र विभिन्न अवसरमा भेदभाव, लाञ्छना र विभेद कायम छ । अहिले पनि संक्रमितलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा नराम्रो दृष्टिकोण राख्नेहरु धेरै छन् । त्यसैले संक्रमितहरु खुलेर समाजमा सार्वजनिक हुन सकिरहेका छैनन् ।
नेपालमा सबैभन्दाबढी युवाहरु जोखिममा रहेका छन् । केन्द्रका अनुसार १५ देखि ४९ वर्षभित्रका ४१ हजार १ सय १० जनालाई संक्रमण भएको छ । यसले देखाउँछ की युवा अवस्थामा रहेकाहरुलाई यसको संक्रमण हुने सम्भावना बढी हुन्छ । युवामुखी कार्यक्रम संचालन भएपनि समग्र अवस्थामा भने सुधार आउन सकेको छैन ।
युवा अवस्थामा यौन जन्य हेलचेक्रयाँई र लागुपदार्थको सेवनले जोखिम धेरै हुने गैरसरकारी संस्था महासंघका वरिष्ठ उपाध्यक्ष गोपालनाथ योगीले बताउनुभयो । उहाँका अनुसार युवाहरु हरेक हिसाबले एक्टिभ हुने भएकाले उनीहरुनै जोखिममा पर्ने गरेका छन् । लैङ्गिक हिसाबले हेर्ने हो भने पनि पुरुष र महिलामा धेरै पुरुष नै जोखिममा छन् ।