राजदूत नियुक्ति मापदण्ड ‘मुलुक हेरेर मापदण्ड तय’ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विभिन्न मुलुकमा रिक्त राजदूत नियुक्तिका लागि आफूले मापदण्ड बनाइरहेको जानकारी दिएका छन् । दक्षिण ललितपुरको जनभावना क्याम्पसको छैटौं क्याम्पससभा शनिबार उद्घाटन गर्दै परराष्ट्रमन्त्री पाण्डेले राजदूत नियुक्तिका लागि मान्छे हेरेर मापदण्ड नबनाई मुलुक हेरेर मापदण्ड तय गर्न लागिएको बताए।
दलहरूले पनि मेरो मान्छेलाई राजदूत नियुक्त गर्नुप:यो भनेर सिफारिस गर्न नहुने उनको तर्क थियो। उनका अनुसार राजदूत नियुक्तिका लागि उच्चशिक्षा, अन्तर्राष्ट्रिय भाषा, परराष्ट्र मामिलासम्बन्धी ज्ञानलाई आधार मान्ने मोटामोटी तयारी परराष्ट्रले गरेको छ। भारतमा तीन वर्षदेखि राजदूत पद रिक्त छ।
थाइल्यान्ड, इजिप्ट, अमेरिकासहितका १२ देशमा राजदूत रिक्त छन्। दक्षिण अफ्रिका र फ्रान्समा खाली हुँदैछ भने ब्राजिलका राजदूतको कार्यकाल सकिए पनि फर्केका छैनन्। ‘भारत, चीन, अमेरिका, बेलायतजस्ता देशमा देशको प्रतिनिधित्व गरेर जाने व्यक्ति र मलेसिया, कतारमा राजदूत नियुक्त भएर जाने समान योग्यताका हुनु हुँदैन भन्ने मेरो मान्यता छ’, परराष्ट्रमन्त्री पाण्डेले भने, ‘त्यसका लागि मैले परामर्श गरिरहेको छु।’ उनले गरिबीविरुद्ध लड्न जनस्तरमा सञ्चालन भएका सामुदायिक म्क्याम्पसहरूले शिक्षामार्फत चेतना फैलाउनुपर्ने बताए।
‘उचित शिक्षाले समाज विकासका निम्ति बाटो देखाउँछ’, उनले भने, ‘जनभावनाजस्ता पब्लिक क्याम्पसहरूले यो कार्यमा लाग्नुपर्दछ।’ कार्यक्रममा सभासद् उदयशमशेर राणाले युवा बेरोजगारी समाधान गर्न सरकार लागिपर्नुपर्ने बताए। सभासदद्वय सुशीला नेपाल र योगेन्द्र घिसिङले पनि विकास निर्माण तथा शिक्षा विकासका लागि दलगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा मन्त्री पाण्डेले क्याम्पसको तीनतले भवन निर्माणमा आर्थिक सहयोग उपलब्ध गराउने प्राध्यापक, समाजसेवीलाई प्रशंसापत्र प्रदान गरेका थिए। क्याम्पसको २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित विविध खेलकुद कार्यक्रमका विजयी विद्यार्थीलाई पनि मन्त्री पाण्डेले सिल्ड प्रदान गरेका थिए। २०४७ सालमा स्थापित जनभावना क्याम्पसमा पाँच सय ५० विद्यार्थी अध्ययनरत छन्।