काठमाडौ, चैत्र १७ – सरकारले सगरमाथा आधार शिविरमा खडा गर्ने सम्पर्क कार्यालयमा आरोहीका तर्फबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशलाई पनि सम्पर्क अधिकृतका रूपमा खटाउने भएको छ ।
प्रकाशले २०६८ मा लुम्बिनी- सगरमाथा शान्ति अभियान-२०१२ को टोलीमा सदस्य रही सगरमाथा आरोहरण गरेको आधारमा उनलाई सम्पर्क अधिकृत तोकिने भएको अधिकारीहरूले बताएका छन् ।
‘आरोहीहरूमा कसलाई सम्पर्क अधिकृत खटाउने भनेर लक्की ड्र गर्दा उनको नाम आएको हो,’ पर्यटन उद्योग महाशाखाका एक अधिकारीले भने ।
पर्वताराहोणका लागि आरोहीहरू अपि्रल मध्यदेखि सगरमाथा आधार शिविरतर्फ लाग्नेछन् । मेको अन्तिमसम्म आरोहण सकेर र्फकनेछन् ।
प्रकाशसँगै कार्यालय समयमा सम्पर्क अधिकृतका रूपमा सुरक्षा र निजामतीका गरी प्रत्येक टोलीका लागि एक/एक जना खटाइने महाशाखाले जनाएको छ । सरकारले यसपालिको मुख्य पर्वतारोहण मौसमदेखि सगरमाथाको आधार शिविरको अन्तिम बिन्दुमा सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । उक्त कार्यालयमा स्थानीय कर्मचारी दुई जना चौबीसै घन्टा खटाइने पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन उद्योग महाशाखा प्रमुख मधुसुदन बुर्लाकोटीले जानकारी दिए । पहिले प्रत्येक टोलीका लागि एक जना सम्पर्क अधिकृत जाने गर्थे ।
सरकारका तर्फबाट सम्पर्क अधिकृतका रूपमा जानेलाई पूर्वतालिम तथा साना हिमाल चढाइन्छ । हालसम्म सगरमाथा पर्वतारोहणमा जाने १० टोली महाशाखाबाट अनुमति लिने प्रक्रियामा छन् । गत वर्ष सगरमाथाका लागि महाशाखाबाट स्वदेशी/विदेशी गरी ५ सय ६७ जनाले अनुमति लिएर आरोहण पूरा गरेका थिए । त्यसबाट सरकारले ३३ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको महाशाखाको तथ्यांक छ ।
हालको दस्तुरअनुसार एक्लै सगरमाथा जाने विदेशीले वसन्त ऋतुमा २५ हजार, शरदमा १२ हजार ५ सय र शिशिर वर्षायाममा ६ हजार २ सय ५० डलर तिर्नुपर्ने व्यवस्था छ । सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको पहिलोपल्ट आरोहण थालेयता हालसम्म झन्डै चार हजारले सगरमाथा आरोहण गरेका छन् ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र १७