समाचारको खण्डन छाप्न गएका पाठकलाई कुटपिट गरेको भन्दै जिल्ला अदालत काठमाडौंले समाचारपत्र दैनिकका प्रधानसम्पादक, प्रबन्ध सम्पादक र दुई पत्रकारलाई कैद सँजाय र जरिवाना सुनाएको छ।
काठमाडौं महानगपालिका वडा नं २० घेराउ सम्बन्धि समाचारको खण्डन छाप्न गएका डिल्ली खड्कीलाई कुटेर नाक भाँचिदिएको ठहर गर्दै प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, उनका छोरा प्रवन्ध सम्पादक दिरेकलाल श्रेष्ठ, कामना मासिकका सम्पादक विदुर गिरी र वरिष्ठ सम्वाददाता दिपक रिजाललाई जनही ६ महिना कैद र २हजार २ सय जरिवानाको फैसला गरेको हो।
जिल्ला न्यायाधीश इन्द्रबहादुर कार्कीको इजलासले गत माघ २ गते उनीहरुलाई कैद र जरिवानाको फैसला सुनाएको हो। अदालतले चारै जानालाई ‘कुटपिट गरेबापत २ हजार रुपैयाँ जरिवाना र हुलहुज्जत गरेकाले थप २ सय सँजाय’ गरेको हो।
२०६८ साल मंसीर १३ गते समाचारपत्र दैनिकले ‘वडा कार्यालय घेराउ’ शीर्षकको समाचार छापेको थियो।सोहि दिन दिउँसो ४ बजे खड्की समाचारको खण्डन गर्न उक्त दैनिकको कार्यालय जाँदा वादविवाद भएको थियो।
खड्की सहितले वडा कार्यालय घेराउ गरेको समाचार छापिएको थियो। त्यस्तो समाचार गलत भएको दाबी गर्दै आफूले वृद्व भत्ता दिलाउन वडा कार्यालय गएको दाबी खड्कीले अदालतसमक्ष गरेका थिए।
प्रधान सम्पादक श्रेष्ठको इशारामा छोरा दिरेकलाल सहितले आफूलाई कुटेको भन्दै खड्गीले फिरादपत्र दायर गरेका थिए। उनको फिरादमा सांघातिक आक्रमण गरि नाकको हड्डी भाँचिदिएको उल्लेख थियो।
उनीहरुले आफूलाई आक्रमण गरि मुलुकी ऐन कुटपिटको महलको १ र ५ विपरित कसुर गरेको खड्गीको दाबी थियो।
खड्कीले तत्कालिक सम्पादक कपिल काफ्लेलाई पनि विपक्षि बनाएका थिए। अदालतले काफ्लेलाई सफाई दिएको छ।
समाचारपत्रका प्रधान सम्पादक श्रेष्ठले ‘अदालतले गुण्डागर्दीको पक्षमा फैसला’ गरेको प्रतिक्रिया दिएका छन्।
‘यस्तो फैसलाले कानूनको विश्वसनीयतामाथि प्रश्न उठेको छ,’ उनले भने, ‘अदालतले खड्कीले जनसेवा प्रहरीमा दिएको बयानलाई प्रमाण नमानी फैसला गरेको छ।’
वीर अस्पतालको मेडिकल रिपोर्ट र डाक्टरको बयानमा पनि आफूहरुको कुटाईले नै खड्कीको नाक भाँचिएको भन्ने उल्लेख नभएको श्रेष्ठले दाबी गरेका छन्।
डिल्लीराज खड्की २०६३ सालदेखि नै नाम चलेका मानिसहरुलाई झूठो मुद्दा लगाउँदै हिँड्ने व्यक्ति भएको आरोप समेत श्रेष्ठले लगाएका छन्।
‘हाम्रो सम्पादलाई उसले आक्रमण गर्न आएको थियो, अदालतले अर्कै बुझ्यो,’ उनले भने, ‘हामीहरु जिल्लाको फैसलाविरुद्व एक/दुई दिनमै पुनरावेदन जान्छौं।,’ SETOPATI