रुकुममा उपचार अभाबमा एक सुत्केरीको मृत्यु

रुकुम, चैत्र १९ – रुकुमस्थित मग्मा गाविसमा उपचार अभाबमा बुधवार बिहान एक सुत्केरीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मग्मा- ९ कि ३६ वर्षीया नेपे खत्रीको सुत्केरी भएको दश घन्टापछि उपचार अभावमा मृत्यु भएको हो ।
घरमै मंगलबार राती सुत्केरी भएकी खत्रीको अत्यधिक रक्तश्राब भएपछि र शालनाल नखसेपछि ज्यान गएको कार्यालयले जनाएको छ । सुत्केरी हुनुपर्ने समय फागुन तेस्रो साता भए पनि उनलाई करिब एकमहिनापछि मात्र सुत्केरी व्यथा लागेको थियो । रातको समय भएकाले उनलाई प्रसुतिका लागि नजिकैको स्वास्थ्य केन्द्र लिन नसकिएको उनका भाइ हरि खत्रीले बताए । उनले सुत्केरी भइसकेपछि घरमै झारफुक र घरेलु उपचार गरिएको जानकारी दिए । उनले सिकिस्त अवस्था भएपछि स्वास्थ्य चौकी लैजाने तयारी गर्दा गर्दै सुत्केरीको ज्यान गएको जनाए ।
स्थानिय स्वास्थ्यकर्मी भरत जैसीले स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसुती केन्द्र भए पनि घरमै प्रसुती भएकाले उनको ज्यान गएको जानकारी दिए । घरमै सजिलै गरी सुत्केरी भए पनि लामो समयसम्म शालनाल नझरेको र अत्यधिक रक्तश्राव भएको उनले बताए । ‘अधिकांश महिलाको घरमै सुत्केरी गराइने भएकाले उपचार अभावमा ज्यान जाने गरेको छ,’ जैसीले कान्तिपुरसित भने, ‘प्रसुतिका लागि स्वास्थ्य चौकीमा ल्याएको भए उनको ज्यान बच्न सक्थ्यो ।’
जनचेतनाका अभाबका कारण गाउँका अधिकांश महिलाहरुले यसरी नै बच्चा जन्माउदा ज्यान जोखिममा पर्ने गरेको उनले जनाए । उनको छोरी जन्मिएको र नवजात शिशुको अवस्था भने सामान्य रहेको जैसीले जानकारी दिए ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र १९