काठमाडौं, चैत्र १९ – प्रधानमन्त्री सुशील कोइराला मन्त्रिपरिषद्लाई पुर्णता दिने गृहकार्यमा जुटेका छन् ।
कोइरालाले सरकारमा सहभागी गराउनका लागि राप्रपा अध्यक्ष सुर्यवहादुर थापासँग बुधबार छलफल गरेका छन् । कोइरालाले मंगलबार अर्का नेता पशुपति शमसेर राणासंगपनि छलफल गरेका थिए । मन्त्रिपरिषद्लाई तत्काल पुर्णता दिन कोइरालाले राप्रपालाई दुई मन्त्रालय दिन समेत सकारात्मक भएका छन ।
प्रधानमन्त्री कार्यालय स्रोतका थापाले पार्टीको आन्तरिक सन्तुलनका लागि पनि दुई मन्त्रालय दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । कोइरालाले बाणिज्य तथा आपुर्ती र विज्ञान तथा प्रविधि मन्त्रालय दिन सकारात्मक भएका हुन । प्रधानमन्त्रीले नेकपा (माले) सहित अन्य साना राजनीतिक दललाई पनि सरकारमा ल्याउने बिषयमा छलफल सुरु गर्ने भएका छन् ।
साना राजनीतिक दललाई सरकारमा सहभागी गराउन प्रधानमन्त्रीसँग रक्षा, शान्ति, बाणिज्य तथा आपुर्ती, विज्ञान, प्रविधि तथा वातवरण, गरीवी निवारण तथा सहकारी र महिला तथा बालबालिका मन्त्रालय छन । लामो समयदेखि यी मन्त्रालयले मन्त्री नपाउँदा दैनिक कामकारवाही समेत ठप्प भएका छन । प्रधानमन्त्री कोइरालाले बुधबार नै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल गरेका छन् । ठाकुरसँग संविधासभाका समिति र स्थानीय निकायको निर्वाचनका बिषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले बताए ।
प्रधानमन्त्रीले स्थानीय निकायको निर्वाचनका सहयोग गरिदिन आग्रह गरेका थिए । ठाकुरले स्थानीय निकायको निर्वाचनमा जाँदा एक बर्षभित्र संविधान जारी गर्ने कार्यसूचि प्रभावित हुने भन्दै हतार नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । त्यस्तै उनले संविधानसभाका समितिमा आफ्नो दलले नेतृत्व पाउनुपर्ने दावी समेत ठाकुरले गरेका थिए ।
कोइरालाले थापा र ठाकुरसँगको छट्टाछुट्टै भेटमा मन्त्रिपरिषले मनोनयन गर्ने २६ सभासदका बिषयमा पनि छलफल गरेका थिए ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र १९