काठमाडौं, चैत्र २१ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्य निरूपण तथा मेलमिलाप आयोगबारे सर्वोच्च अदालतले हालै गरेको फैसलाप्रति आपत्ति जनाएका छन् । उनले फैसला विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानविरुद्ध भएको दाबी गरे ।
भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को १९ औं राष्ट्रिय सम्मेलन शुक्रबार उद्घाटन गर्दै उनले अदालत ‘देउता’ जस्तो हुन खोजेको टिप्पणी गरे । ‘सत्य निरूपण आयोग विस्तृत शान्ति सम्झौताअनुसार बन्नुपर्नेमा हाम्रा अदालतले देउताको अदालतजस्तो भएर काम गर्न थाल्यो भने देश फेरि द्वन्द्वमा जाने खतरा छ,’ उनले भने, ‘अदालत होस् वा सरकार वा राजनीतिक पार्टी, यतिबेला हामी नेपालमा सबै १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानप्रति प्रतिबद्ध छौं । त्योभन्दा बाहिर गएर कसैले निर्णय गर्न खोज्यो, कुनै राजनीतिक नेतृत्व वा अदालतले वा कुनै तत्त्वले सुपर पावर प्रयोग गर्न खोज्यो भने नेपाली समाज निकै ठूलो द्वन्द्वमा जाने खतरा छ ।’
सर्वोच्चले आयोग नबन्दासम्म द्वन्द्वकालका गम्भीर प्रकृतिका घटनाको निरूपण प्रचलित कानुनअनुसार हुने निर्णय गरेको थियो । आक्रोशित मुद्रामा प्रस्तुत भएका दाहालले शान्ति प्रक्रिया भाँड्ने षड्यन्त्र भइरहेको ठोकुवासमेत गरे । ‘राजनीतिक नेतृत्वलाई असफल पार्ने ठूलो डिजाइन अहिले चलिरहेकै छ । सत्य निरूपण मेलमिलाप आयोग बनाउने कुरामा सरकारले अलिकति पनि गल्ती गर्यो र शान्ति प्रक्रिया असफल भयो भने संविधान निर्माण प्र्रक्रिया असफल हुनेवाला छ,’ उनको भनाइ थियो, ‘यो संविधानसभाबाट संविधान नबन्ने खतरा छ । शान्ति प्रक्रिया सफल हुन नदिने षड्यन्त्र हुँदैछ ।’
सरकारसमेत माओवादी नेताहरूलाई अदालतमा उभ्याएर सिध्याउन खोजेको बताए । ‘हिजो टाउकाको मूल्य तोक्नेहरूबाट फेरि अन्तर्राष्ट्रिय अदालतमा लगेर कारबाही गर्ने गम्भीर षड्यन्त्र भइरहेको छ,’ उनले थपे, ‘हिजो माओवादी आन्दोलनका नेताहरूको टाउकाको मूल्य तोक्नेहरूले अहिले पनि टाउको काट्न खोजेका छन् । यो कुरा हामीले बिर्स्यौं भने इतिहासमा हामीबाट भूल हुने खतरा छ ।’
उनले विद्यार्थीहरूलाई एमाओवादीप्रति लक्षित कदमको प्रतिवाद गर्न निर्देशन दिए । कार्यक्रममा वरिष्ठ नेता बाबुराम भट्टराईले संविधानसभाबाट नयाँ संविधान बन्नेमा अझै आशंका रहेको उल्लेख गर्दै त्यसका लागि वातावरण बनाउन विद्यार्थीलाई खबरदारी गर्न आग्रह गरे । उनले पुँजीवादी क्रान्तिबाट मात्र समाजवादी क्रान्ति पूरा गर्न सकिने तर्क गरे ।
नेतृत्वका लागि निर्वाचन
कीर्तिपुरमा शुक्रबार सुरु अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।
अध्यक्षका लागि रमेश मल्ल, जागृत रायमाझी र विन्दमान बिष्ट उम्मेदवारी दिने तयारीमा छन् । महासचिवमा रामचन्द्र अधिकारी, अनिल शर्मा, नरेन्द्र न्यौपाने र रञ्जित तामाङ, उपाध्यक्षका लागि अहिन्द्रविक्रम बेगर, जानुका पराजुली र बिना मगर उठ्ने तयारीमा छन् । सचिवका लागि सुरेन्द्र बस्नेत, तिलक भण्डारी र गोपाल धामीले उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । सम्मेलनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।
प्रमुख पदमा बढी आकांक्षी भएकाले सर्वसम्मत नेतृत्व चयन कठिन देखिएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा एक हजार २ सय प्रतिनिधि सहभागी छन् ।
EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र २१