अर्घाखाँचीमा विजुलीको भर भएन, उपभोक्ताहरु राम्ररी विजुली बाल्न नपाइकनै पुरै शुल्क तिर्न बाध्य


अर्घाखाँचीको धनचौरमा रहेको टान्सफर्मर ।

 

– वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची – चैत्र २२। उद्योगी-व्यावसायी, सर्वसाधारण एवं सञ्चारकर्मी अनियमित विद्युत आपूर्तीले हैरानी खेपेका छन । घोषित लोडसेडिङ तालिका छैन तर घण्टैपिच्छे अवरुद्ध भैरहन्छ । सातामा पाँच दिन दिनभर विजुली जान्छ । विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छैन तर दैनिक ६ देखी १५ घण्टासम्म विजुली जान्छ । 



घण्टैपिच्छे लाईन जाने र आउने गर्दा उद्योगी, व्यावसायी र सर्वसाधारण मर्कामा परेका छन । चैत महिना यता दिनहु वत्ती अवरुद्ध भएको छ । प्रत्येक दिन छ-सात पटक जाने-आउने गर्छ र एक घण्टा पनि टिक्दैन । विजुलीकै कारण समयमै काम गर्न सकिदैन, पशुपति पाउरोटी उद्योगका सञ्चालक योगेन्द्र खडका भन्छन, विजुली आउला भनेर पर्खेर बस्यो आयो भने छिनभरमै जान्छ, आँखा झम्क्याए जस्तै हुन्छ, काम गर्न, वस्तु उत्पादन गर्न साह्रै समस्या प-यो । छिनछिनमा विजुली जाने आउने गर्दा बजार र गाउँका धेरैजसोका कम्प्युटर र टिभी बिग्रने गरेका छन । सञ्चालित चार वटा रेडियो बन्द हुने र खुल्ने निश्चित नै छैन । सञ्चारकर्मी मारमा परेका छन । जिल्लामा सञ्चालित पाउरोटी, फर्निचर, ईटा उद्योग, मसला, दालमोठ, चाउचाउ, साबुन लगायत दुई सय भन्दा बढी साना उद्योग विजुलीको कारण संकटमा परेको उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद भुसालको भनाई छ ।  उद्योगी व्यावसायीहरु भन्छन, बरु यति घण्टा आउन्छ भनेर ग्यारेन्टी भए काम गर्न सजिलो हुने थियो । 



प्युठानको झिमरुक परियोजनबाट यहाँ विद्युत जडान भएको छ । धेरैजसो समय विजुली अवरुद्धले सबैजसो मर्कामा परेका छन । झिमरुकबाट लाईन विग्रने समस्या छ त्यसमा पनि झिमरुक देखी अर्घाखाँचीसम्म जोडिएको लाईन बीच-बीचमा बिग्रिरहेने गर्छ, प्राधिकरण जिल्ला शाखा प्रमुख हरिप्रसाद पाण्डे भन्छन, झवाप्प जान्छ कहाँ समस्या आयो खोज्नै घण्टौ लाग्छ । चैत महिनामा हावाहुरीले अवरुद्ध भैरहेको छ । धेरैजसो लाईन जंगलमा छन त्यहाँ कति रुखले पोल र तारमा हान्यो भने, गईहाल्छ, पोल ढल्ने बाङगिने गर्छ, उनले भने, झिमरुकबाट पनि काटिदिन्छन, त्यहाँ पनि झगडा नै गर्नुपर्छ, त्यसपछि बीचमा लाईन अवरुद्ध हुने गर्छ कहाँ बिग्रियो पत्तो लाग्न धेरै दुःख गर्नुपर्छ हैरानै पार्छ, परिवार विरामी हुँदा म घरमा सम्म जान पाउदैन । विजुली कतिबेला आउन्छ र कतिबेला जान्छ भरै छैन । 



गाउँका उपभोक्ताहरु राम्ररी विजुली बाल्न नपाइकनै शुल्क तिर्न बाध्य छन । महिनाको ५ दिन विजुली आएपनि पुरै महिनाको शुल्क तिर्नुपरेको भन्दै आक्रोशित छन । शहरदेखी गाउँमा अध्ययनरत विद्यार्थीलाई सबैभन्दा धेरै समस्या परेको छ । पहाडी क्षेत्र भएकाले यहाँ हावा लाग्ने र पानी पर्ना साथ पोल ढल्ने, रुखले अवरोध पार्ने र सव स्टेशन नै बिग्रने समस्याले दिनहु विजुली अवरुद्ध हुने गर्छ भने प्राविधिकरणका कर्मचारीको लाप्रवाहीका कारण पनि विजुलीको भर नभएको उद्योगी-व्यावसायीको भनाई छ । 

 





अन्य समाचारहरु