प्रधानमन्त्री सुशील कोइरालाद्धारा काठमाडौंमा विस्तारित सडकको काम छिटो सक्न मातहतका सरकारी निकायहरुलाई निर्देशन

काठमाडौं, चैत्र २२ । प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौंमा विस्तारित सडकको काम छिटो सक्न मातहतका सरकारी निकायहरुलाई निर्देशन दिएका छन् । उनले कम रकममा ठेक्का पारी गुणस्तरहीन काम गर्नेलाई पनि कारबाही गर्न पनि निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा गठित काठमाडौं सडक विस्तार उच्चस्तरीय अनुगमन समितिले शनिबार प्रगति विवरण जानकारी गराएपछि प्रधानमन्त्रीको निर्देशन आएको हो ।
हालसम्म ६२ किलोमिटर सडक कालोपत्रे भएको र यही चैत्र मसान्तसम्म ९० किलोमिटर सडक कालोपत्रे भइसक्ने सचिव बास्कोटाले जानकारी दिए । प्रधानमन्त्री कोइरालाले नेपालले सार्क र विमिष्टेकको शिखर सम्मेलन गर्ने विषयलाई समेत ध्यानमा राखि काठमाडौंको पूर्वाधार निर्माणमा समन्वयात्मक ढंगले छिटो र गुणस्तरीय काम गर्न निर्देशन दिएका जनाइएको छ ।
सरकारका मन्त्री र सचिवले काठमाडौ उपत्यकाका विस्तारित सडक निर्माण चाडै पूरा गर्न बारम्बार निर्देशन दिए पनि ठेकेदारहरुले ढिलाइ गर्दै आएका छन् । कतिपय स्थानमा स्थानीयबासीले अवरोध गरेको र अदालतमा मुद्दा परेको जनाउँदै सडक विस्तारमा ढिलाइ गरिएको छ ।
छिटो काम सक्न ठेकेदारहरुले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गर्ने गरेको गुनासो पनि आउने गरेको छ । सडक छेऊमा कार्यालय भएका केही राजदूतावासहरुले सडक विस्तारमा सहयोग नगरेपछि योजना अनुरुप काम हुन नसकेको पाइएको छ । IMAGEKHABAR