भारतमा लोकसभाका लागि दोस्रो चरणको मतदान

चैत्र २६ । भारतमा लोकसभाका लागि आज दोस्रो चरणको मतदान भैरहेको छ । आज पाँच राज्यको ७ सीटका लागि मतदान हुँदैछ । १६ औं लोकसभाका लागि पूर्वोत्तर भारतका अरुणाञ्चल, मणिपुर, नागाल्याण्ड, मेघालय र मिजोरममा अहिले मतदान भैरहेको हो ।पाँच हप्ता लगाएर नौ चरणमा सम्पन्न हुने निर्वाचन मे १२ मा सकिने छ ।
परिणाम १६ मे मा सार्वजनिक गरिने बताइएको छ । एक अर्ब २० करोड जनसंख्या रहेको भारतमा ८० करोडभन्दा बढी मतदाता आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।५ सय ४३ सीट भएको लोकसभामा बहुमतसिद्ध गर्न २ सय ७२ सीट जित्नुपर्नेछ ।
दुई मूख्य दल कांग्रेस आई र भारतीय जनता पार्टीबीच मूख्य प्रतिस्पर्धा हुँदैछ । हिन्दूवादी दल भाजपाको गठबन्धनले बढी सीट ल्याउने आंकलन गरिएको छ ।
भाजपाले कट्टर हिन्दूवादी छवी बनाएका नेता नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ भने कांग्रेसबाट उपाध्यक्ष राहुल गान्धीलाई प्रधानमन्त्रीका रुपमा हेरिएपनि औपचारिक रुपमा घोषणा गरिएको छैन् । अर्कातिर दिल्लीबाट भ्रष्टाचारविरुद्धको मुद्दालाई उठाएर चर्चामा आएको अरविन्द केजरीवालको आम आदमी पार्टीको भविष्य पनि यस निर्वाचनले तय गर्ने छ ।
Agencies