कांग्रेसद्धारा आममाफीको व्यवस्था भएको भन्ने हल्ला निराधार भएको उल्लेख

काठमाडौं – नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा सभासद्हरूलाई केही दिनअघि मात्र संसदमा प्रस्तुत सत्य निरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयकमा आममाफीको व्यवस्था भएको भन्ने हल्ला निराधार भएको जनाएको छ।
कांग्रेस केन्द्रीय समिति तथा संसदीय दलको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्य तथा पदाधिकारीले यसबारे जानकारी गराएको केन्द्रीय सदस्य एवं प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताए।
दुवै विधेयकका सम्बन्धमा वस्तुगत अवस्था, भावना र उद्देश्यबारे जानकारी गराउँदै कांग्रेसले विधेयक विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ र सर्वोच्च अदालतले दिएको निर्देशनबमोजिम नै ल्याइएको स्पष्ट पारेको छ।
मिडियामा आएको आममाफीको हल्ला व्यर्थ भएको भन्दै विधेयकमा पीडकले आफ्नो अपराध स्वीकार गरिसकेपछि पीडित पक्षको सहमति र सन्तुष्टिले मात्र आममाफी दिनसक्ने प्रावधान भएको प्रवक्ता बडूले जानकारी गराउनुभयो।
बैठकमा निश्चित न्यायिक प्रक्रियामा गइसकेपछि विधेयकले विगतको सशस्त्र द्वन्द्वका विषयलाई मेलमिलापमा परिणत गर्ने र गम्भीर प्रकृतिको अपराधमा मुछिएकालाई कानुनी कारबाही गर्न सक्ने प्रावधान भएकाले केन्द्रीय सदस्य तथा सभासदहरुलाई बाहिर आएका हल्लाका पछि नलाग्नसमेत आग्रह गरिएको थियो।
 
RSS