चितवन, वैशाख २ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राउ परेका दुई जनाको चितवन जिल्ला अदालतमा बयान सुरु भएको छ । प्रहरीले उनीहरुलाई अदालतमा पेश गरेपछि उनीहरुको बयान सुरु भएको हो ।
पक्राउ परेका मध्ये ७२ वर्षीय छविलाल पौडेलको आज बयान लिन सुरु भएको जिल्ला अदालतले जनाएको छ । अर्का आरोपी भीमसेन पौडेलको भोलि बयान लिइने अदालतले जनाएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ ।
त्यसअघि आजै बिहान आरोपीहरुलाई अदालत लैजाने क्रममा अनावश्यक भीड बढेको भन्दै प्रहरीले उनीहरुलाई फर्काएको थियो । अधिकारी हत्या अभियोगमा सरकारी वकिल कार्यालयले १३ जना विरुद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्दा चलाएको छ । – IMAGEKHABAR