आगामी साता राजधानीलगायत पूर्वमा पेट्रोल र डिजेल आपूर्ति सहज हुने

काठमाडौ, वैशाख ६ – रक्सौल र बरौनीबाट इन्धन आपूर्ति बढेकाले आगामी साता राजधानीलगायत पूर्वमा पेट्रोल र डिजेल आपूर्ति सहज हुने आयल निगमले बताएको छ । निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालका अनुसार बरौनीबाट सय र रक्सौलबाट ५ सय किलोलिटर पेट्रोल शुक्रबार लोड भएको छ ।
‘बरौनीमा रोकिएको थियो, शुक्रबार सय किलोलिटर लोड भयो,’ उनले भने, ‘रक्सौलबाट पनि शुक्रबार ५ सय किलोलिटर लोड हुँदै छ ।’ आगामी मंगलबार निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई ३ अर्ब ९ करोड भारतीय रुपैयाँ (भारु) बुझाउने कबुल गरेकाले इन्धन आपूर्ति बढेको हो । निगमले उक्त रकम भने आफ्नै बिक्रीबाट दिने सत्यालले बताए । यो रकम नियमित भएकाले बक्यौता तिर्न भने सरकार जमानी बसेर पाउने ऋण आगामी साता आईओसीलाई बुझाउने सहमति भएको छ । निगमले आईओसीलाई मार्चसम्मको हिसाबमा करिब ५ अर्ब रुपैयाँ तिर्न बाँकी छ । जसमध्ये साढे २ अर्ब रुपैयाँ सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले पाउने सैद्धान्तिक सहमति भएको छ ।
उक्त रकम दिनेबार सोमबारको मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्नेछ । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार यहाँ भाउ समायोजन नहुँदा निगमको घाटा चुलिएको छ । आईओसीले बक्यौता नतिरेकाले आपूर्ति कटौती गरेपछि राजधानीलगायत मुख्य सहरहरूमा इन्धन अभाव चर्किएको छ । राजधानीका पेट्रोल पम्पमा इन्धन भर्न सर्वसाधारणले घन्टौं लाइन बस्नुपरेको छ ।
अपि्रल १६ को मूल्यसूचीअनुसार निगमको मासिक घाटा ६४ करोड रुपैयाँ प्रक्षेपण गरिएको छ । अघिल्लो महिनाभन्दा ८ करोड कम भए पनि सरकारले रकम दिएर दीर्घकालीन समाधान निस्कने सम्भावना न्यून छ ।
 EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख ६