सीमा नाघेर बोल्ने अमेरिकी र युरोपेली देशका राजदूतहरुलाई जेल हाल्नुपर्ने एकीकृत माओवादीका सभासदको भनाइ

काठमाडौं, वैशाख ८ । एकीकृत माओवादीका सभासद रामनारायण विडारीले सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक विरुद्ध अभिव्यक्ति दिएको भन्दै राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नेभी पिल्ले तथा नेपालस्थित अमेरिकी र युरोपेली देशका राजदूतहरुलाई जेल हाल्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले आज राजधानीमा आयोना गरेको कार्यक्रममा विडारीले उच्चायुक्त पिल्लेले सीमा नाघेर बोलेको भन्दै त्यसको भण्डाफोर गर्ने उद्घोष समेत गरे ।
नेपाली राजदूतहरुले युरोप, अमेरिका लगायत विदेशी राष्ट्रको कानुन निर्माणमा कुनै चासो देखाउने हो भने उनीहरुले तुरुन्तै नेपाल फर्काइदिने भन्दै विडारीले नेपालको सरकार पनि बलियो भएको भए विदेशी राजदूतहरु कि जेल पर्थे कि उनीहरुकै देश फर्काइन्थे भनी टिप्पणी गरे ।
प्रस्तावित आयोगको उद्देश्य कारबाही भन्दा पनि मेलमिलाप गराउनु भएको उनको भनाइ थियो ।
 
कार्यक्रममा नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारले हतारमा विधेयक संसदमा पेश गरेको भन्दै त्यसमा संशोधन आवश्यक रहेको बताए ।
यस्तै, मानव अधिकारकर्मी सुदीप पाठकले प्रस्तावित सत्य निरुपण आयोगको काम, कर्तव्य र क्षेत्राधिकार व्यापक फराकिलो बनाउनु पर्ने भन्दै सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा आयोग गठन हुनुपर्ने बताए ।
त्यसैगरी, अधिवक्ता दिनेश त्रिपाठीले विधेयकमा आममाफी जस्तो प्रावधान राखेर पीडकलाई उन्मुक्ति खोजिएको भन्दै उक्त विधेयक संसदबाट पारित हुनेमा शंका व्यक्त गरे ।
Imagekhabar