– प्रेमनारायण आचार्य
नरपानी, अर्घाखाँची ९ बैसाख । अर्घाखाँचीको नरपानी गा.वि.स.ले खुल्ला दिसामुक्त अवस्था हासिल गरेको छ ।
घरयासी तह र सँस्थागत तहमा सुरक्षित शौचालयको निर्माण र प्रयोग भएको भन्दै गा.वि.स. स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले सोमवार जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिमा अन्तिम गुणस्तर अनुगमनका लागि निवेदन दिएको छ ।
गा.वि.स. स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तुल्सीराम पोखरेलले जिल्लामा निवेदन दर्ता गराउनुभएको हो । सरसफाइको पहिलो खुट्किलोको रुपमा रहेको खुल्ला दिसामुक्त अवस्था हासिल गरेको हुनाले गुणस्तर अनुगमनका लागि निवेदन दिइएको उहाँले जानकारी दिनुभयो ।
आधाररेखा सर्वेक्षण अनुसार नरपानी गाविसमा ८ सय २० घरधुरी मध्ये ४ सय ५८ घरधुरीले मात्रै सुरक्षित शौचालयको प्रयोग गरेका थिए । सरसफाइ अभियानको क्रममा ३ सय ६२ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरिएको थियो ।
यसैगरी खुल्ला दिसामुक्त अभियान अन्तरगत अर्घाखाँचीको सुवर्णखाल गा.वि.स. स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा गाविस खुल्ला दिसामुक्त अवस्थामा पुग्नको लागि अन्तिम अवस्थामा पुगेको र निर्र्माण हुन बाँकी रहेका घरधुरीमा तीब्र रुपमा निर्माण कार्य थालेर अन्तिम गुणस्तर अनुगमनको लागि जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिमा निवदेन दिइने गा.वि.स. स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष चिरञ्जिवि अधिकारीले जानकारी दिनुभयो ।