सरकारले सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी मृत्यु हुनेका परिवारलाई रु पाँच लाख सहयोग दिने

काठमाडौँ, वैशाख १०, २०७१ – सरकारले सगरमाथा आरोहणका क्रममा यही वैशाख ५ गते हिमपहिरोमा परी मृत्यु हुनेका परिवारलाई रु पाँच लाख सहयोग दिने भएको छ। 
 
सो घटनामा परी १३ जना आरोहीले ज्यान गुमाएका थिए भने तीन जना बेपत्ता भएका थिए। 
 
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भीमप्रसाद आचार्यले यस प्राकृतिक विपत्ति परी ज्यान गुमाउनेका परिवारजनप्रति समवेदना व्यक्त गर्दै सरकारले पीडित परिवारलाई रु पाँच लाख सहयोग गर्ने जानकारी दिए ।
 
हराइरहेकाको खोजी भइरहेको बताउँदै उहाँले यस किसिमको घटना कसैको नियन्त्रणमा नहुने र सरकारले यसमा कुनै लापरवाही नगरेको बताए ।
 
उनले सगरमाथा आरोहण गर्ने क्रम एक हप्तापछि पुनः सुचारु हुने पनि बताए ।
 
एक फरक प्रसङ्गमा मन्त्री आचार्यले जुवातास खेलाएर पैसा कमाउने क्यासिनोले राज्यलाई पैसा नतिरेको, मजदुरलाई ज्याला नदिएको र होटलको भाडा नतिरेका कारण बन्द गर्नुपरेको स्पष्ट पारे ।
 
उनले रोयल्टी नबुझाएसम्म त्यस्ता क्यासिनो सञ्चालनमा नआउने पनि बताए ।  SETOPATI