ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज आठ वर्ष पूरा

काठमाडौं, वैशाख ११ । ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको आज आठ वर्ष पूरा भएको छ । २०६२ सालको चैत्र २६ गतेबाट सुरु भइ १९ दिनपछि आन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज यो दिवस मनाइँदै छ ।
यसका लागि सरकारले सार्वजनिक बिदा पनि दिएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली कांग्रेससहितका तत्कालीन सात दलले विघटित प्रतिनिधिसभा पुनस्र्थापनाको माग बोकेर सडकमा ओर्लिएका थिए ।
कांग्रेसका तत्कालीन सभापति दिवंगत गिरिजाप्रसाद कोइरालाको यो अडानले यहि दिन अर्थात् वैशाख ११ गते पूर्ण रुप पाएको थियो । जनताको हातमा आफूले लिएका सबै शक्ति र सत्ता फर्काउन राजा ज्ञानेन्द्र सहमत भएपछि आन्दोलन टुंग्एिको थियो । ०६२/०६३ मा भएको जनआन्दोलनमा २५ जना नेपाली सपूतले जीवन वलिदान दिए भने थुप्रै घाइते भए ।
राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन लादेपछि विपरीत ध्रुवमा मुख फर्काएर बसेका संसदवादी सात राजनीतिक दल र माओवादी दिल्ली सम्झौतापछि एउटै विन्दुमा उभिएर लोकतान्त्रिक आन्दोलन सुरु भएको थियो । भारतको दिल्लीमा सात दल र माओवादीबीच निरंकुश राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न १२ बुँदे समझदारी भएपछि अगाडि बढेको शान्तिपूर्ण आन्दोलनमार्फत् नेपालीले लोकतन्त्र प्राप्त गरेका हुन् ।
२०६२ चैत्रमा आह्वान गरिएको शान्तिपूर्ण आन्दोलनका अगाडि राजाले घुँडा टेकेपछि नेपाली जनताको जित भएको थियो । यसक्रममा २०६४ सालमा संविधानसभाको चुनाव भइ बसेको संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते मुलुकबाट अढाई सय वर्षको इतिहास बोकेको राजतन्त्र सदाका लागि अन्त्य भएको घोषणा गर्‍यो । यो घोषणासँगै राजा ज्ञानेन्द्रले राजाहरुको निवास अर्थात् नारायणहिटी दरबारबाट बिदा लिए ।
अर्कातिर एक दशक लामो माओवादी सशस्त्र युद्धले शान्तिपूर्ण राजनीतिक मोड लिएको समय पनि यही थियो । यद्यपि, आठ वर्षको यस अन्तरालमा पनि संविधानसभाले संविधान बनाउन सकेको छैन । बरु दोस्रो पटक संविधानसभाको निर्वाचन गरिएको छ । तर, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता छानबिन आयोग गठन, युद्धकालमा लुटिएका नागरिकका घरजग्गा फिर्ता र द्धन्द्ध पीडितहरुको पुनस्र्थापना जस्ता काम आठ वर्ष बित्दा पनि हुन सकेका छैनन् ।
लाखौं जनता १९ दिनसम्म सडकमा ओर्लिएपछि राजाको निरंकुश शासन ढलेको खुशियाली आठ वर्षसम्मको यस अवधिमा दलका नेताहरुको चरम सत्तालिप्साको राजनीतिले क्रमशः फिका बनाउँदै लगेको देखिँदैछ ।
यसै अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना सन्देश दिँदै जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने पहिलो जिम्मेवारी आफ्नो भएको बताएका छन् । संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, मावनअधिकार, सामाजिक न्याय, समावेशी, समानुपातिक र सहभागितामूलक शासनप्रणालीसहितका उपलब्धि संस्थागत गर्नेतर्फ सबै लाग्नुपर्ने उनको भनाइ छ ।
वर्तमान सरकार मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गरी विकास निर्माणलाई अघि बढाउन लागेको पनि उनले उल्लेख गरेका छन् । 
– IMAGEKHABAR