युक्रेन संकटमा रुससँग अमेरिकाको सम्बन्ध बिग्रँदै

वैशाख ११ । युक्रेन संकटमा रुससँग सम्बन्ध बिग्रँदै गएपछि अमेरिकाले आफ्ना सैन्य दस्तालाई पोल्याण्डमा उतारेको छ । पहिलो लटमा १५० अमेरिकी सैनिकलाई पोल्याण्ड उतारिएको हो ।
सैन्य अभ्यासका नाममा अरु ४५० सैनिकलाई पोल्याण्ड झारिने छ । यस्तो सैन्य अभ्यास पोल्याण्डका अतिरिक्त लिथुआनीया, लात्भीया र इस्टोनियामा पनि गरिने बताइएको छ । युक्रेन अधिनस्थ क्राइमियालाई टुक्राएर आफूमा विलय गराएपछि रुस र युक्रेनबीच बढ्दो तनावमा अमेरिकालगायत पश्चिमा मुलुक युक्रेनका पक्षमा अभिएका छन् ।
क्राइमिया टुक्राएपछि पनि रुसले पूर्वी यूक्रेनमा रुसीभाषीलाई उचालेर युक्रेनको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको आरोप युक्रेनले लगाइरहेका बेला अमेरिकाले आफ्नो सैन्य दस्ता पोल्याण्डमा उतारेको हो ।
यसअघि रुसी विदेशमन्त्रीले भने युक्रेनमाथि आफूहरुको स्वार्थका कसैले हस्तक्षेप गरेमा त्यसको रुसले राम्रै जवाफ दिने चेतावनी दिएका थिए । अमेरिकी उपराष्ट्रपति जो वाइडेनको भ्रमणकै क्रममा पूर्वी युक्रेनमा आतंकवादी गतिविधि नियन्त्रणका नाममा थालिएको कारबाहीलाई रुसले अमेरिकी उक्साहटमा भएको आरोपसमेत लगाइसकेको छ ।
रुसको यस्तो आरोपको खण्डन गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने आफूहरुको गतिविधि युक्रेनमा बढिरहेको संकट कम गर्ने दिशामै रहेको भनेका छन् ।
अर्कातिर रुसी एअरक्राफ्टले हवाई सीमा उल्लंघन गर्दै आफूहरुको आकाशमा प्रवेश गरेको आरोप बेलायत, नेदरल्याण्ड र डेनमार्कले लगाएका छन् । 
Agencies