उपल्लो मादी जलविद्युत आयोजनाको सुरुङमा पहिरो जाँदा १६ जना मजदुर सुरुङ भित्रै थुनिए

पोखरा, वैशाख १२ –  कास्कीको सिल्दुजुरे गाउँ विकास समितिमा निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत आयोजनाको सुरुङमा पहिरो जाँदा १६ जना मजदुर सुरुङ भित्रै थुनिएका छन् ।
थुनिएका मजदुरको उद्दार कार्य शुक्रबार बेलुकी अबेरसम्म चलिरहेको छ । दिउँसो करिब साढे १ बजेतिर सुरुङको मुखमा गएको पहिरोले सुरुङभित्र काम गरिरहेका १३ जना नेपाली र ३ जना चिनियाँ मजदुर थुनिएका हुन् ।
सुरुङभित्र हावा पठाउन प्रयोग गरिएको पाइपको माध्यमबाट१३ जना नेपालीले आफूहरु सकुशल रहेको जानकारी गराएपनि ३ जना चिनियाँको बारेमा थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
सुरुङभित्रै रहेका एक मजदूरले पाइपको प्वालबाट आफूहरु सकुशल रहेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
सुरुङभित्र अक्सिजनको कमी भएकाले पाईपमार्फत हावा र पानी पठाइएको उद्दारमा संलग्नहरुले बताएका छन् । सुरुङको मुखमा ठूलो पहिरो गएकाले दुवैतर्फबाट डोजर र स्काभेटर प्रयोग गरी सुरुङ्गको मुख खोल्ने काम भइरहेको छ । उद्दारकार्यमा स्थानीय बासिन्दा, प्रहरी र आयोजनाका मजदुर खटिएका छन् । उनीहरुको उद्दार नभएसम्म रातीपनि उद्दार कार्य जारी रहने प्रहरीले जनाएको छ । 
– उज्यालो, Ujyaaloonline