सल्यान, वैशाख १३ । सल्यानको धनवाङ गाविस वडा नम्बर ३ कपुरकोटस्थित तारा होटलबाट प्रहरीले आज नेपाल श्रमिक तथा दलित मुक्ति पार्टी नामक भूमिगत समूहका चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रुकुम राङसीका पृथ्वी विक, रुकुम कोलका जलन भनिने जयराम विक, रुकुम माग्माका कर्णबहादुर खत्री र सल्यान दमाचौरका हिरालाल खड्का रहेका छन् । उनीहरुले भूमिगत पार्टीको नामबाट विभिन्न जिल्लामा चन्दा असुली र आपराधिक क्रियाकलाप गर्दै आएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट लेटर प्याड, आर्थिक सहयोग रसिद, चन्दा संकलन रसिद र केही घरेलु हतियार समेत बरामद भएका छन् । यो समूहबाट पहाडी जिल्लाका सरकारी कर्मचारी र व्यापारी बढी पीडित थिए ।
विशेष सूचनाको आधारमा गए राति उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । -IMAGEKHABAR