माथिल्लो मादीखोला जलबिद्यूत आयोजनामा गएको पहिरोले सुरुङभित्र फसेका १३ मजदुरको उद्दार, ३ अझै सम्पर्कबाहिर

पोखरा, वैशाख १३ – कास्कीको सिल्दजुरे र नामार्जुन गाविसमा निर्माणाधिन माथिल्लो मादीखोला जलबिद्यूत आयोजनामा गएको पहिरोले सुरुङमार्गको मुख छेकिदा सुरुङभित्र फसेका १६ मध्ये १३ मजदुरको १३ घन्टापछि सकुशल उद्दार गरिएको छ । 
पोखरा क्षेत्रिय अस्पतालमा सामान्य उपचारपछि उद्दार गरिएका सबै मजदुर घर फर्किएका छन् । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा श्रीकृष्ण श्रेष्ठका अुनसार उनीहरुलाई भिटामिन र ग्लुकोज दिइएको छ ।  उनीहरुमा एक चिनीयाँ मजदुर पनि छन ।
शुक्रबार दिउँसो साढे १ बजेदेखि थुनिएका उनीहरुलाई शनिवार बिहान सवा ३ बजे उद्दार गरिएको कास्की प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले बताए ।
डोजरले पहिरो हटाएर निकालिएको थियो । पहिरोले एक एक्साभेटर पुरिएको र त्यसका चालक सुजन गुरुङसहित ३ जना सम्पर्कबाहिर रहेका आयोजनाका सुपरभाईजर गंगादत्त सापकोटाले बताए । उनीहरुको खोजी कार्य भैरहेको छ ।
सुरुङ प्रवेशद्वारमा करिब एकसय मिटर माथिबाट पहिरो खसेको थियो । ठूलो ढुंगासहितको पहिरोले सुरुङ सुरक्षार्थ बनाइएको फलामे रड (रिप) भाँचेर प्रवेशद्वार भन्दा करीब १५ मिटर माथि सुरुङ अबरुद्ध बनाएपछि उनीहरु फँसेका थिए ।
पहिरोले भित्र हावा छिराउन प्रयोग गरिएको बुलर पाईप नष्ट भएपछि बैकल्पिकरुपमा राखिएका फलामे पाइपबाट पानी र हावा भित्र पठाइएको थियो । एअर कम्प्रेसरमार्फत हावा भित्र पठाइएको थियो । फसेकाहरु १ सय २५ मिटर भित्र थिए । हावा र पानी पठाइएको पाईपको माध्ययमबाट बेलाबेलामा सम्पर्क भैरहेको थियो ।
२५ मेगावाट क्षमताको आयोजना नेपाली र चीनको चाईना थ्री गर्जेज कर्पोरेशनसंग आबद्ध चाईना ईन्टरनेशनल वाटर एन्ड ईलेक्टि्रक कर्पोरेशन (सीडब्लुई) को संयुक्त लगानीमा निर्माणाधीन छ ।
आयोजना करिब ५ अर्ब २८ करोड रुपैयाँ लागतमा आयोजना बन्न लागेको हो । ४ हजार २ सय मिटर लामो सुरुङ बनाउनुपर्नेमा अहिलेसम्म १ हजार ५ सय मिटर निर्माण भैसकेको छ ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख १३