काठमाडौं, वैशाख १४ । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण स्थगित गर्ने शेर्पाहरुको निर्णयपछि अलपत्र परेका विदेशी आरोहीहरु धमाधम काठमाडौं फर्कन थालेका छन् । सगरमाथा पहिलो शिविरनजिक गत बैशाख ५ मा हिमपहिरो जाँदा १३ जना आरोहण सहयोगीको मृत्यु भएको थियो ।
त्यसलगत्तै सहयोगी शेर्पाहरुले आरोहण स्थगित गर्ने निर्णय गरेपछि विदेशी आरोहीहरु काठमाडौं फर्कन बाध्य भएका हुन् । सगरमाथा आरोहण व्यवस्थापन कम्पनीहरुका अनुसार करीब डेढ दर्जन दलले आरोहण नगर्ने निर्णय गरेका छन् ।
आरोहण स्थगित भएसँगै नेपालको पर्यटन व्यवसायमा समेत असर पर्ने संकेत देखिएको छ । यो बर्षमात्रै एक नेपाली र ३१ बिदेशी आरोही सहभागी दलबाट पर्यटन मन्त्रालयले ३२ लाख ५० हजार अमेरिकी डलर अर्थात ३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ रोयल्टी उठाएको छ । सगरमाथा आरोहण अनुमति लिएका ३१ बिदेशी दलमा ३ सय ३४ आरोही छन् । IMAGEKHABAR