पोखरा , वैशाख १४ – कास्कीको सिल्दजुरे र नामार्जुन गाविसमा निर्माणाधिन माथिल्लो मादीखोला जलविद्युत आयोजनामा गएको पहिरोले सुरुङमार्गको इन्टेक छेकिँदा सुरुङभित्र हराइरहेका दुई मजदुर मृत अवस्थामा भेटिएका छन् ।
मृतकमा उदयपुर चौदण्डीका अर्जुन तामाङ र नइनबहादुर तामाङ रहेका छन् । उनीहरुलाई पहिरोले पुरेको थियो । आयोजनाका सुपरभाइजर गंगादत्त सापकोटाका अनुसार आइतबार दिउँसो सवा १२ बजे र साढे २ बजे दुवैको शव भेटिएको हो । शवलाई अहिले पोखरा ल्याउने तयारी भइरहेको छ । यसअघि शनिबारमात्रै पहिरोमा परेका एक्साभेटर चालक तनहुँ दुलेगौंडाका सुजन गुरुङपनि मृत भेटिएका थिए ।
गत शुक्रबार दिउँसो माथिबाट आएको पहिरोले सुरुङ अबरुद्ध हुँदा १६ मजदुर सुरुङभित्रै फँसेकोमा १३ जनाको शनिबार बिहान १५ घन्टापछि सकुशल उद्दार गरिएको थियो ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ वैशाख १४