१८ बैशाख । आज मे १ आर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । संसारका मजदूर एक हौं भन्ने नाराका साथ आज १ सय २५औं अन्तराष्ट्रिय मे दिवस मनाइँदै छ ।
यसै अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आज राजधानीमा र्याली निकाल्यो । भृकुटीमण्डपबाट सुरु भएको र्याली सहिदगेट, न्यूरोड, जमल हुँदै शान्तिबाटीकामा पुगेर समापन भएको थियो ।
कार्यक्रममा श्रमिक नेताहरुले सरकारले श्रमको उचित मूल्यांकन गर्न नसेकेको, श्रमिकको ज्याला अत्यन्त न्यून भएको भन्दै नयाँ श्रम ऐन लागू गर्न सरकारसँग माग गरेका थिए ।
रोजागारीको लागि धेरै युवा विदेशिनु परेको भन्दै उनीहरुले स्वदेशमै रोजगारीको व्यवस्था गर्न माग पनि गरे ।
अमेरिकाको सिकागो शहरका मजदुरले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी सन् १८८६ मा पहिलो पटक आन्दोलनमा उत्रिएको मे १ को दिन आज विशेष महत्वका रुपमा रहेको छ।
सन १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले मे १ लाई विश्व श्रमिक दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेको हो।
श्रमिक दिवस या मजदुर दिवसका नामले मानिँदै आएको यस पर्वका दिन विश्वका मजदुरले आ-आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सम्बद्ध सरकार र रोजगारदातालाई दबाब दिने उद्धेश्यले विभिन्न कार्यक्रम गर्ने गर्छन्।