वैशाख १७ । थाइल्याण्डमा आगामी जुलाई २० का लागि नयाँ निर्वाचनको तिथि घोषणा गरिएको छ । प्रधानमन्त्री यिङलक शिनावत्रा र निर्वाचन आयोगबीचको सहमतिपछि यो तिथि तय गरिएको हो ।
गत फेब्रुअरीमा सम्पन्न चुनावलाई त्यहाँको संवैधानिक अदालतले अवैध घोषण गरेपछि ताजा जनादेशका लागि नयाँ तिथि घोषणा गरिएको हो । चुनावको नयाँ मितिलाई सरकार विरोधी प्रदर्शन गरिरहेका विपक्षीहरुले स्वीकार्ने नस्वीकार्ने सम्बन्धमा भने कुनै खबर आइसकेको छैन् ।
विपक्षीको बहिष्कारका बाबजुत प्रधानमन्त्री यिङलकले फेब्रुअरीको निर्वाचन गराएकी थिइन् ।
यता, यिङलक विरुद्ध चलिरहेको दुईवटा मुद्दामाथि केही हप्ताभित्र हुने सुनुवाइ उनको विपक्षमा गए उनीमाथि पाँच वर्षको राजनीतिक प्रतिबन्ध लाग्न सक्ने अवस्था समेत रहेको छ ।
प्रधानमन्त्री यिङलकको सरकार, पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको नियन्त्रणमा रहेको भन्दै विपक्षीहरुले सुरु गरेको सरकार विरोधी प्रदर्शनका कारण थाइल्याण्ड गत नोभेम्बरयता राजनीति रुपले अस्तव्यस्त बनेको छ । (एजेन्सी)